दुर्गा प्रसाईंबारे पहिलो पटक केपी ओलीले टिप्पणी गरे

पोखरा । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेको भनेर समाचार आइरहेका बेला एमालेका अध्यक्ष केपी ओलीले सो विषयमा कुनै दवाव नदिएको दाबी गरेका छन् ।

सोमबार पोखरामा आयोजित एमालेको कार्यक्रममा ओलीले दुर्गा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेका हुन् ।

ओलीले भने, ‘प्रचण्डलाई गएर दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्‍यो भनेर बिन्ती बिसाएँ अरे ! काटिएर जाओस् शीर बरु त्यस्ताहरूसँग यो शीर झुक्दैन । भोकै मर्छु होला तर, लाशका त्यान्द्रा टिप्न जाँदैन ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालले आफ्नो पार्टीको बैठकमा ओलीले दुर्गा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्न आफूलाई दवाव दिएको बताएको समाचार आएका थिए । माओवादी निकट उच्च स्रोतले पनि ओलीले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री दाहालसँग दवावसहितको आग्रह गरेको बताएका थिए ।

ओलीले झुटको सहारा लिएर, भ्रम फिँजाएर, जनतालाई अल्मल्याएर भएका कुप्रचार, हल्लाबाट विचलित नहुन आग्रह गरेका छन् ।

उनले तथ्य प्रमाणसहित गठबन्धनसँग उनीहरुले गरेका क्रियाकलापबारे बहस गर्न तयार रहेको बताएका छन् ।

ओलीले भने, ‘पदमा बस्छु बस्दिनँ बेग्लै कुरा हो, २० वर्ष अझै राजनीति गर्छु । यो देशका प्रतिक्रियावादी शक्तिलाई ठेगान लगाउनुछ । म पदमा नबसे पनि पर्तिरबाट साथीहरूलाई अगाडि बढ साथी हो भनेर बल दिन्छु ।’

ओलीले आफूलाई बद्नाम गर्ने नियतका साथ कम्बोडियाको दूरसञ्चारमा तीन हजार करोड रुपियाँ लगानी गरेको हल्ला फैलाइएको पनि बताएका छन् ।

उनले भने, ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने पत्ता लगाउनुस् । धेरै त भन्दिनँ, एक हजार रुपियाँ थपेर तपाईंकै नाममा गर्दिन्छु ।’

कालापानीको भूभाग नेपालको नक्सामा सामेल गरेपछि तीन वर्षअघि एक भारतीय टेलिभिजनले उक्त अफवाह फैलाएको बताउँदै ओलीले पछि माफी मागेर उक्त सामग्री हटाएको दाबी गरेका छन् । उनले सो टेलिभिजनले गल्ती सच्याएपछि मात्रै आफूले उक्त टेलिभिजनलाई अन्तरर्वार्ता दिएको बताए ।

उनले भने, ‘गलत भयो भनेर सच्चाइसकेको कुरा अहिले नेपालमा हल्ला फैलाएको छ । कहिले ओलीको २७ रोपनी जग्गा सिमरामा, ३७ रोपनी जग्गा गठ्ठाघरमा लिएको छभनेको छ । स्विस बैंकमा पैसा जम्मा गरेको, अनेक ठाउँमा चार–पाँचवटा विशाल घर बनाएको भनेर हल्ला चलेको छ ।’

‘यो सबै नेकपा (एमाले)लेलाई कसरी बद्नाम गर्ने भनेर नेतृत्वलाई बद्नाम गर्न खोजिएको हो’, अध्यक्ष ओलीले भनेका छन् ।

एमालेका अध्यक्ष ओलीका विषयमा भ्रष्टाचारलगायतका विभिन्न आक्षेपहरू पूर्व केन्द्रीय सदस्य प्रसाईंले लगाउँदै आएका छन् ।

प्रसाईंको आरोपको ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत खण्डन गरेका छन् । ओलीलाई प्रसाईंले विभिन्न लाञ्छना र आरोपहरू लगाएर हैरान बनाएका छन् ।

Published : Monday, 2023 October 30, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया