सानेपामा कांग्रेसको भव्य चियापान समारोह, सभापति देउवासहितका नेताहरूद्वारा स्वागत
काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दशैँ, तिहार लगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्न चियापान समारोहको आयोजना गरेको छ ।
शनिबार कांग्रेसले चियापान समारोहको आयोजना गरेको हो । समारोहमा उपस्थित पाहुनाहरूलाई सभापति शेरबहादुर देउवासहितका नेताहरूले स्वागत सत्कार गरेका छन् । डा.शशांक कोइराला, धनराज गुरुङ, गगन थापा, महालक्ष्मी उपाध्याय, डा.आरजु राणा, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मीनबहादुर विश्वकर्मा, शेखर कोइराला, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, लगायतका नेताहरूले पनि आगन्तुक पाहुनाहरूलाई स्वागत गरेका छन् ।
चियापान समारोहमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी नेता अग्निप्रसाद सापकोटा, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले जवाफ दिने समय नभएको भन्दै उचित समयमा जवाफ दिने बताएका छन् ।
प्रधानमन्त्री दाहालले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने बताए ।
दाहालले यस्ता कार्यक्रमले आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने बताएका छन् । उनले भने, ‘यो चियापान संस्कृति विपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ, यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि सङ्घर्षमा होमिएका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनमा केन्द्रित छ ।’
एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेसले उच्च राजनीतिक संस्कार बसालेको बताएका छन् ।
दिउँसो १ बजेदेखि शुरु भएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन भएको थियो ।
कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन गर्दै आइरहेको छ ।
चियापान कोरोना महामारीका कारण विगतका केही वर्षहरूमा आयोजना हुनसकेको थिएन ।
विपी कोइराला विक्रम संवत् २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विक्रम संवत् २०३४ देखि चियापान सुरु गरेको हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया