काठमाडौंको दृश्या होटलमा प्रहरी छापा, पैसासहित मानिसहरू पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल काठमाडौंको बल्खु डेरा गरी बस्ने ४४ वर्षीय झविन्द्र सापकोटाको दृश्या होटलमा प्रहरीले छापामारेको छ ।

होटलमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

उता, कैलालीको धनगढी उप–महानगरपालिका–१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ३ सय ६५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१० बिराटचोक बस्ने ३७ वर्षीय सुशिल कुमार काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा काफ्ले समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५१ हजार २ सय २५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Sunday, 2023 October 29, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया