शनिबार कांग्रेसको चियापान समारोह, सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन दशैँ पर्वको अवसरमा शुभकामना आदान प्रदानका लागि चियापान समारोह राखेको छ ।

चियापान समारोहमा सहभागी हुन कांग्रेसले विज्ञप्तिमार्फत आग्रह गरेको छ । चियापान समारोहमा सहभागी हुन आउने पाहुनाहरुलाई सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र नेताहरुले स्वागत गर्नेछन् । चियापान समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिंदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा २०८० कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह २ः०० देखि ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर, ललितपुरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संबैधानिक निकायका प्रमुखहरु, सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, सम्पादक, प्रकाशक एवं पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिताका लागि आमन्त्रण गरिसकेको कांग्रेसले जनाएको छ ।

चियापान समारोहमा उपस्थितिका लागि कांग्रेसले आग्रह गरेको छ । विक्रम संवत २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

Published : Friday, 2023 October 27, 4:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया