एनआरएनएको अध्यक्षमा एमाले समर्थक केसी निर्वाचित, धाधली भएपछि बबाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी धाँधली गरेर विजयी भएको आरोप लागेको छ ।

केसी अध्यक्षमा विजयी हुनेवित्तिकै बबाल भएको छ । केसी एमाले समर्थक हुन् । काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा भएको मतदान र मतगणनापछि निर्वाचनमा धाँधली भएको आरोप लागेको छ ।

पराजित उम्मेदवारहरूले सिस्टम ह्याकको आरोप लगाएका छन् । उनीहरूले मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् ।

निर्वाचनस्थलमा निर्वाचन र मतदानका क्रममा धाँधली भएको भन्दै असन्तुष्ट समूहले नाराबाजी गरेका छन् । मतदान र मतगणनाका क्रममा धेरै त्रुटिहरू भेटिएका छन् । त्रुटि भेटिएपछि विवाद भएको छ ।

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरू महेश श्रेष्ठ, आरके शर्माको आरोप छ । उनीहरूले कानूनी प्रक्रियामा जाने बताएका छन् । महेश श्रेष्ठ नेपाली कांग्रेस निकटका हुन् ।

११औँ विश्व सम्मेलन भएको निर्वाचनमा अध्यक्षमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरूले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् । निर्वाचनमा तीन जना अध्यक्षका उम्मेदवारहरूले प्यानलसहित खडा भएका थिए ।

Published : Friday, 2023 October 20, 6:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया