रक्सी पिएको आरोपबारे कांग्रेसका सांसद बजगाइँले दिए कुटनैतिक सफाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाइँले आफ्नो सार्वजनिक भएको अन्तर्वार्तालाई लिएर टिकाटिप्पणीप्रति कुनै गुनासो नरहेको बताएका छन् ।

बजगाइँले ट्वीट गर्दै ख्याती प्राप्त टेली शो ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आफ्नो अन्तर्वार्ताका विषयमा भएका कठोर टिप्पणीप्रति चित्त दुखाएका हुन् । उनले अन्तर्वार्ताका क्रममा मदिरा सेवन गरेको भनेर गरिएका टिप्पणीमा चित्त दुखाएका हुन् ।

उनले भने, ‘अमेरिकी संसदमा सोसलाइजेशन बारहरू छन् । सिनेट र कांग्रेसमा दुबैतिर विधायकहरू दिउँसै रक्सी पिइदिन्छन् । लण्डन स्कुल अफ ईकोनोमिक्समा बार छ ।’

‘कुन त्यस्तो नेता होस् जो मदिरा सेवन गर्दैन ! ख्यातिप्राप्त टेली शो ‘जनता जान्न चाहन्छन्’मा घटास्थापनाको दिनमा मैले ऋषि धमलाजीसंग कठोर संवाद गरेको थिएँ’, बजगाइँले भनेका छन् ।

‘उपरोक्त संवादमा मैले निरपेक्ष भएको पार्टीका पदाधिकारी, कोशी काण्ड र देशको कार्यदिशाको बारेमा संवाद गर्दै गर्दा मदिरा सेवन गरेर बोलेको अनर्गल टिप्पणी आइरहेको पनि पाएँ’, उनले भने ।

‘दर्शक र आम सर्वसाधारणमा त्यसकिसिमले विचार फैल्याउनु निकै असान्दर्भिक देख्छु’, बजगाइँले भने, ‘त्यो रातिको पल थियो । दर्शकलाई के थाह मैले मदिरा पिएको थिएँ कि रूघा, खोकी ज्वोरो पो थियो कि ? अस्वस्थ पो थिएँ कि ? मेरो लवजी बोली अलि त्यस्तै पो हो कि ? तर, टिप्पणी गर्नेप्रति न गुनासो नै छ न खेद नै ।’

उनले भने, ‘ल भयो रे पिउँछन् रे ! राजनीति गर्नेहरू ! उनीहरू लुकेर किन पिउँछन् कि ढोंग गर्छन् ? अमेरिकी संसदमा सोसलाइजेशन बारहरू छन् । सिनेट र कांग्रेसमा दुवैतिर विधायकहरू दिउँसै रक्सी पिईदिन्छन् ।’

‘हामी त स्वनिर्भर हौं । आफैले किनेर खान्छौं । एकाध राजनीतिज्ञ रक्सी पिउँदैन तर, घुस पिदिन्छन् नि !’, उनले भने ।

‘मदिरा खाएर सार्वजनिक स्थल यातायात हुलदंगा गर्न वर्जित छ’, उनले भने, ‘अस्पताल विद्यालयमा जान मिल्दैन । मदिरा सेवन गरेर सवारी साधन चलाउन मिल्दैन ।’

‘कुनै अपराध संलग्न हुँदैनन् । गाली गर्दैनन् भने विदाको दिनमा आफूलाई मनपर्ने पहिरन लगाउन पाइन्छ । रमाईलोसंग टीभीमा बोल्न पाइन्छ’, कांग्रेसका सांसद बजगाइँले भने, ‘तर ! परिस्थिति त्यो थिएन । जय नेपाल ।’

अन्तर्वार्तामा रक्सी पिएर लठ परेर जथाभावी बोलेको भनेर कांग्रेसका सांसद बजगाइँको सामाजिक सञ्जालहरूमा आलोचना भइरहेका बेला उनले सफाइ दिएका छन् । उनले आरोपहरूका बारेमा निकै कुटनैतिक र कठोर जवाफ दिएका छन् ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि रक्सी पिएर सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यमहरूमा बोल्ने गरेको आरोप लाग्ने गरेको छ । तर, महरालाई थाइराइडको समस्या भएका कारण उनको बोली नै लरबराएर आउने गर्छ ।

कांग्रेसका सांसद बजगाइँले अन्तर्वार्ताका क्रममा रक्सी पिएका थिएनन्, अर्को विषय भयो तर, सोही अन्तर्वार्ता र कुनै नेताको आलोचना गरेकै आरोपमा साइबर सेनाहरूबाट बजगाइँको मानमर्दन हुने गरेर चरित्र हत्या गर्ने कार्य उचित होइन ।

Published : Tuesday, 2023 October 17, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया