नापीका सर्वेक्षक ठाकुर र विचौलिया यादव पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

आयोगले उनीहरूसँग नगद एक लाख २५ हजार बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सर्वेक्षक ठाकुर र विचौलिया यादवले जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेका थिए ।

सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले ठाकुर र यादवलाई सेवाग्राहीबाट एक लाख पच्चीस हजार रुपियाँ लिइसकेको अवस्थामा फेला पारेर पक्राउ गरेको जनाएको छ ।

भद्रपुर नगरपालिका वडा नं. ७, चन्द्रगढीबाट उनीहरूलाई सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2023 October 16, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया