राष्ट्रपतिसमक्ष अध्यक्ष अन्सारीद्वारा आयोगको प्रतिवेदन पेश, शिक्षा र धार्मिकस्थलहरूको संरक्षणमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

सोमबार शीतलनिवासमा अध्यक्ष अन्यासरीले राष्ट्रपति पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको प्रवक्ता मिर्जा अरशद बेगद्वारा विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले सबै जाती, भाषा, सांस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न आग्रह गरेका छन् । उनले मुस्लिम समुदायको हकहितको संरक्षण र सम्बर्द्धन तथा त्यसको समुदायका लागि आयोगको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रपति पौडेलले आयोगले प्रतिवेदनमा उठाएका महत्वपूर्ण विषयहरूलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने बताए ।

आयोगका अध्यक्ष अन्सारीले आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका प्रमुख कार्यहरूबारेमा संक्षिप्त जानकारी गराएका छन् । उनले समानुपातिक, समावेशी सिद्धान्तको आधारमा मुस्लिम समुदायलाई संविधान प्रदत्त राजनैतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताका लागि कानूनी व्यवस्था गरी तीन तहका सरकारहरूबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

अध्यक्ष अन्सारीले मुस्लिम समुदायको विकासका लागि उच्च तहको सीप विकास, तालिम र रोजगारमुलक लक्षित कार्यक्रम आवश्यक रहेको बताए ।

उनले शिक्षा तथा सार्वजनिक क्षेत्रको रोजगारीमा आरक्षण, मातृभाषाको संरक्षण र सम्बर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्ने, मदरसा शिक्षा प्रणालीको सुधारका लागि आवश्यक सुधार देखिएको बताएका छन् ।

अन्सारीले समुदायसँग विभिन्न धार्मिकस्थलहरूको संरक्षण र सम्बर्द्धन, कब्रिस्तानहरूको जग्गा अतिक्रमण नियन्त्रण तथा तराई र पहाडका केही जिल्लाहरूमा शव (मैयत) गाड्ने कब्रिस्तान (श्मसानस्थल)हरूको थप व्यवस्थापन गर्न आवश्यक देखिएको बताएका छन् ।

Published : Monday, 2023 October 16, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया