कार्कीको गिरोहलाई अनुशासनको कारबाही गर्न कांग्रेसमा माग, ओलीसँग बार्दलीमा लिए आशीर्वाद

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हुन् वा नेकपा (एमाले)का सदस्य हुन् प्रश्न उठेको छ ।

मुख्यमन्त्री पदको शपथ लिनुभन्दा अगाडि कार्कीले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई भक्तपुरको बालकोटस्थित निवासमा भेट गरेर आशीर्वाद लिएर बिराटनगर उडेका छन् । ओलीले कार्कीलाई धेरै लामो समय दर्शन भेट दिएनन् । कार्कीसँग ओलीले आफ्नो निवास बालकोटको ढोकामा निकै छोटो र सामान्य कुरा गरेर पठाएका थिए ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका कार्कीले आइतबार मुख्यमन्त्री पदको शपथ लिएका छन् । कार्कीले कांग्रेसका प्रदेश सभा सदस्य शम्शेर राई र नेकपा (एमाले)का राम रानालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । कांग्रेसका शम्शेर राई कांग्रेसका विद्रोह ८ जना सदस्यमध्येका हुन् ।

कांग्रेसलाई बचाउन सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोशी प्रदेशका सभापति उद्धव थापाले शेखर कोइराला तथा केदार कार्कीसहित कोशी प्रदेश सभाका ८ सदस्यहरूलाई अनुशासनको कारबाही गर्ने हिम्मत गर्छन् वा गर्दैनन् हेर्न बाँकी छ ।

कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ प्रदेशसभा सदस्यले हस्ताक्षर सनाखत गरेपछि कार्की शनिबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

कार्कीले एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीको पनि आशीर्वाद लिएका छन् । हिक्मतको विराटनगर महानगरपालिका–३ रेग्मी टोलीस्थित घरमै पुगेर कार्कीले आशीर्वाद लिएका छन् ।

कार्कीले कांग्रेसको कोशी प्रदेशका सभापति समेत रहेका संसदीय दलको नेता उद्धव थापासँग सम्वाद गरेका छैनन् । शपथ ग्रहण समारोहमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा कांग्रेसका कोशी प्रदेश सभापति तथा दलका नेता थापा उपस्थित भएका थिए ।

सत्ता गठबन्धनले कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सारेको थिएन । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

शेखर कोइरालाले कार्कीलाई एमालेसँग समझदारी गरेर मुख्यमन्त्री बनाएका छन् । अब कांग्रेस प्रमुख प्रतिपक्ष बनेर बस्छ वा सरकारमा सहभागी हुन्छ हेर्न बाँकी छ ।

एमालेको पुच्छर बनेर मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेसले कारबाही गर्ने पक्का जस्तै छ । पार्टीमा सरसल्लाह र निर्णय नै नगरेर एमालेलाई सरकारमा सहभागी गराउने तथा समर्थन लिने कार्य गरेर कार्कीले अनुशासनको घोर उल्लंघन गरेका छन् ।
मुख्यमन्त्री कार्कीसहित आठ जना प्रदेश सभा सदस्यहरूलाई कांग्रेसले अनुशासनको कारबाही गरेन भने पार्टीभित्र अराजकता हुनेछ । लोकतन्त्रमा पार्टीमा अनुशासन अनिर्वाय रहन्छ ।

कार्कीले मुख्यमन्त्री पाए होलान् । कांग्रेसको नेतृत्वमा कोशी प्रदेशमा सरकार बन्यो होला । त्यो आफ्नो अर्को पक्ष भयो । तर, कार्कीले अनुशासन उल्लंघन गरेका छन् । कार्कीलाई साथ दिएका शेखर कोइरालाले पनि अनुशासन उल्लंघन गरेका छन् । शेखर कोइराला, केदार कार्की र अन्य सात जना प्रदेश सभा सदस्यहरूलाई कुनै पनि हालतमा अनुशासनको कारबाही हुनुपर्छ ।

शनिबार धुम्बाराहीमा भएको भेटमा पार्टी सभापति शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनका दलहरूलाई समेटेर सरकार विस्तार गर्न निर्देशन दिएका थिए । एमालेलाई सरकारमा सहभागी नगराउने सभापति देउवाको इच्छा थियो । तर, कार्कीले बालकोटमा पुगेर ओलीका आशीर्वाद लिएर एमालेलाई सरकारमा सहभागी गराएका छन् । यस्तो अवस्थामा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने छैनन् ।

एमालेले कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराउन मुख्यमन्त्री कार्कीलाई दवाव दिएको छ । माओवादीलगायतका अन्य दललाई सरकारमा सहभागी गराउने हो भने एमालेले सरकार छाड्ने चेतावनी कार्कीलाई दिएको छ ।

Published : Sunday, 2023 October 15, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया