कोशीमा असली हिरो को ? देउवा त्यत्तिकै सफल भएका होइनन्, भित्री रणनीति एमालेले थाहै पाएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच हास्तलिखित कागजमा भएको सहमतिले सत्ता गठबन्धनलाई ठूलो मद्दत गरेको छ ।
सहमतिसँगै सत्ता गठबन्धन कसिलो बनेको छ । सत्ता गठबन्धनलाई बलियो बनाउने र बचाउ गर्ने सहमतिले एमालेले तोरीको फूल देखेको छ ।
कोशी प्रदेशमा राजनीतिक अस्थिरतामा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले खेल्न खोजेका थिए । ओलीले बिराटनगरमा लगेर ‘ढोक्सा’ पनि थापेका थिए । ओलीको ‘ढोक्सा’ बिराटनगर पुगेको थाहा पाउनेवित्तिकै प्रधानमन्त्री दाहाल र सभापति देउवाले आफ्नो रणनीतिलाई यू–टर्न गरिदिए ।
दाहाल र देउवाको रणनैतिक कदमलाई ओलीले थाहा पाउन सकेनन् । कांग्रेसभित्र ‘ढोक्सा’ थापेर विभाजन ल्याउने ओलीको प्रयास शनिबार बिहान भताभुङ भयो ।
दाहाल, देउवा र कोइरालाबीच हास्तलिखित सहमति बाहिर आएपछि एमालेका अध्यक्ष ओली जिल परेका छन् । नेता कोइरालाले कांग्रेस विभाजन गर्न लागे वा कांग्रेसभित्र विद्रोह गराउन सफल भएको भन्दै ओली र एमालेका नेता कार्यकर्ता खुसी थिए । त्यो खुसी कार्की मुख्यमन्त्रीमा नियुक्त हुनेवित्तिकै र त्योभन्दा अगाडि तीन नेताको हस्तलिखित सहमतिले छर्लङ्ग बनाइदियो ।
कीर्ते हर्कत गरेर हैरान बनाएको एमाले कोशीमा नराम्रोसँग फसेको छ । एमाले सत्तारुढ बनेको छ । अब एमालेले मन्त्री पद खान्छ वा खाँदैन हेर्न बाँकी छ ।
सभापति देउवा आत्तिएर कुनै पनि निर्णय वा कदम हतारमा उठाउँदैनन् । सोँच बिचार गरेर मात्रै कदम उठाउँछन् । त्यही भएर देउवा राजनीतिमा सफल भएका छन् । सभापति देउवा कमजोर भएको र शेखर कोइराला बलियो बनेको भनेर टिकाटिप्पणी भएका छन् । त्यो सरासर गलत छ । दाहाल, देउवा र कोइरालाबीचकै गोप्य तयारीले नै कोशीमा गठबन्धनको सरकार बनेको छ । आफूले खनेको खाल्डोमा एमाले आफै परेको छ ।
दाहाल, देउवा र कोइरालाले यो रणनीतिअनुसार कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नबनाएको भए एमालेका हिक्मत कार्की कामचलाउ (केयरटेकर) मुख्यमन्त्री बन्ने थिए । गठबन्धनसँग ३९ भोट मात्रै थियो ।
सभापति देउवा र प्रधानमन्त्री दाहालले कोशी प्रदेशमा एमालेले राजनीतिक दाउपेचलाई विफल बनाइदिएका छन् । यो रणनीतिमा कोइरालाको सहयोग रहेको छ ।
सभापति देउवा निकट मानिने नेता मीनबहादुर विश्वकर्माले शुक्रबार साँझ सञ्चारमाध्यमहरूमा दिएका आफ्ना अन्तर्वार्ताहरूमा शनिबार गठबन्धनबाटै कोशी प्रदेशमा मुख्यमन्त्री बन्ने प्रक्रिया दिएका थिए । उनले भित्री कुरा खुलाएका थिएनन् ।
शेखर कोइराला निकटका केदार कार्कीलाई बोकेर एमालेका अध्यक्ष ओलीले कांग्रेसभित्र विद्रोह गराएको भ्रमपालेर बसे । तर, सभापति देउवाको रणनीति उनले थाहै पाएनन् । जसको परिणाम कोशीमा कांग्रेसले मुख्यमन्त्री पाएको छ ।
शनिबार चितवन पुगेर प्रधानमन्त्री दाहालले पनि कोशी प्रदेशमा गठबन्धनकै मुख्यमन्त्री हुने भनेर अभिव्यक्ति दिए । प्रधानमन्त्री दाहालको त्यो अभिव्यक्ति एमालेका अध्यक्ष ओलीले बुझे पनि कांग्रेसकै केही नेताहरूले बुझ्न सकेका छैनन् ।
प्रधानमन्त्री दाहाल, सभापति देउवा र नेता कोइरालाबीचको हस्तलिखित सहमति बाहिर आउँदा पनि कांग्रेसका केही नेताहरूले बुझ पचाएर टिकाटिप्पणी गरिरहेका छन् ।
कोशी प्रदेशमा सभापति देउवा नै कुशल खेलाडी बनेर देखिएका छन् । सभापति देउवा, प्रधानमन्त्री दाहाल र कोइरालाको चक्रव्यूहमा ओली परेका छन् ।
प्रतिनिधि सभाको निर्वाचनपछि केन्द्र सरकार बनाउने बेला माओवादीका अध्यक्ष दाहालले तत्कालीन समयमा ओलीसँग मिलेर सरकार बनाएका थिए । त्यसको केही समयपछि देउवाले नै दाहाललाई ओलीसँग बाहिर ल्याएर कांग्रेससहितको पुरानो गठबन्धन ब्यूँताएर सरकार बनाउन सफल भएका थिए ।
नेपाली कांग्रेसको सबैभन्दा ठूलो प्रतिस्पर्धी भनेको एमाले नै हो । यो कुरा कांग्रेसका नेतादेखि कार्यकर्ता सबैलाई थाहा छ । माओवादीसँग नै मिलेर जाँदा कांग्रेसलाई रणनैतिक रुपमा फाइदा छ । एमालेलाई कमजोर बनाउँदा नै कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) लगायतलाई राजनीतिक फाइदा हुन्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया