प्रतिपक्ष दल एमालेबाट कोशी प्रदेशमा कांग्रेसमा खेल्ने काम भयो : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कोशी प्रदेशमा प्रतिपक्ष दल नेकपा (एमाले)ले चलखेल गर्न खोजे पनि शीर्ष नेताहरूको सुझबुझका कारण कांग्रेसको नेतृत्व पाएको बताएका छन् ।

शनिबार ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस बागमती प्रदेश ट्रेड युनियन तथा श्रमिक विभाग, स्वास्थ्य सेवा विभाग र भ्रातृ संस्था समन्वय विभागको कार्यक्रममा बानियाँले कांग्रेसको नेतृत्वमा सरकार बनाउन एमालेले सहयोग गरेको बताए । उनले प्रतिपक्ष दलहरूले राजनीतिक मुठभेड निम्ताउन खोजेको बताएका छन् ।

‘राजनीतिलाई द्वन्द्वमा मुडभेडको राजनीति विकास गर्ने प्रतिपक्ष दलहरू तयार भएका छन्’, उनले भने, ‘कोशी प्रदेशमा कांग्रेसमा खेल्ने काम भयो । हाम्रो नेताहरूको सुझबुझ र परिपक्व कामले गठबन्धनको बीचमा नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र नेता शेखर कोइरालाको बीचमा आज संयुक्त विज्ञप्ति जारी गरी जुन खेल्ने काम भएको थियो त्यो काम असफल भएको छ ।’

सभापति बानियाँले भने, ‘कोशी प्रदेशले गठबन्धनको सहमतिमा कांग्रेसको नेतृत्व पाएको छ । प्रतिपक्षको रुपमा रहेको नेकपा (एमाले) सहयोग गरेको छ ।’

‘कोशी प्रदेशमा कांग्रेसको एकता भङ्ग भएको छैन’, बानियाँले भने, ‘एकता भङ्ग गर्ने काम विभिन्न किसिमका चलखेल स्वदेशी, विदेशीबाट भएका छन् ।’

उनले भने, ‘कांग्रेसलाई एकताबद्ध बनाएर, पार्टीभित्रका अनेक मनलाई, नमिलेका मनलाई कसरी मिलाएर लाने, पार्टीभित्र बिचार एउटा छ, सिद्धान्त एउटा छ । बिचार र सिद्धान्तको बीचमा हामी छौँ । अनेकौ मन छन् । अनेकौ मनभित्र गुट, उपगुट । गुट, उपगुट एकजुट भएर नेपाली कांग्रेसले नेपालको राजनीतिमा लिड गर्दै आएको छ ।’

‘कांग्रेसभित्र कांग्रेसलाई कमजोर बनाउन र अहिलेको अवस्थामा विभिन्न घटना क्रमले राज्यमा शासन नै नभएको जस्तो, राज्य कहिले काहीँ कमजोर भएको जस्तो, कतै कालोमोसो दलिएको छ’, उनले भने ।

‘कालोमोसो दल्नेमाथि राज्यले कारबाही गर्नुपर्ने, बोल्नेमाथि लगाम लगाउनुपर्ने कि नपर्ने ? जे मन लाग्यो त्यो बोल्न पाउने कि नपाउने ? राजनीतिमा छाडातन्त्र हुन्छ कि ? लोकतन्त्र हुन्छ ? लोकतन्त्रभित्र छाडातन्त्रलाई नियन्त्रण गर्ने, एकले अर्कोलाई तोडफोड गरेको छ’, सभापति बानियाँले भनेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह–महामन्त्रीद्वय हरिशरण श्रेष्ठ, जीवन डङ्गोल, नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलकप्रसाद रुवाली, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला उप–सभापति दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 October 14, 6:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया