आईजीपी कुँवर नेतृत्वको टोली बेलायतबाट स्वदेश फिर्ता

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको कार्यक्रममा सहभागी भई शनिबार स्वदेश फर्किएको छ ।

कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका छन् ।

कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, स्टफेन ओटर, कन्सल्टेन्ट सिसीलिया डन्सटर, नेशनल क्राइम एजेन्सी (एनसिए), कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख भेटघाट र छलफल गरेका थिए ।

भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो ।

ग्रीनविच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गरेका थिए ।

बेलायत भ्रमणको क्रममा नेपाली राजदुताबास लण्डनका राजदूत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक कुँवरको टोलीबीच नेपाली राजदूतावास लण्डनमा भेटवार्ता भएको थियो ।

भेटघाटका क्रममा नेपाली राजदूतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।

सुरूवात गरिएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिका विरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

Published : Saturday, 2023 October 14, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया