ओलीले शेखरमार्फत कांग्रेसभित्र विभाजनको बीउ रोपिदिए, एमालेको पुच्छर बने कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टी विभाजनको गतिविधि गरेको छ ।

कोशी प्रदेशसभाका सांसद केदार कार्कीले विद्रोह गरेर एमालेको पुच्छर बनेर मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन् । नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गोप्य छलफल गर्दै आएका नेता कोइरालाले एमालेको समर्थनमा कोशी प्रदेशमा आफू निकटका प्रदेशसभा सदस्य कार्कीलाई मुख्यमन्त्रीमा अगाडि बढाएका छन् ।

नेता कोइराला समूहको यो हर्कतले कांग्रेसभित्र ठूलो भुइँचालो ल्याइदिएको छ । शेखर कोइराला समूह कांग्रेस विभाजनको बीउ रोपेको छ ।

कांग्रेसले पार्टीको नीति र हित विपरीत उभिएको भन्दै विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्यहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्वोलाई अघि सार्ने निर्णय गरेको थियो ।

एमालेको समर्थन जुटाएर शेखर कोइराला समूहका केदार कार्कीले पार्टी नीति विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

हाल प्रदेशसभामा कांग्रेसका २९ सीटमध्ये शेखर–गगन समूहका १० जना सांसद छन् । उप–सभामुख बाहेक एमालेका ३९ सांसदले साथ दिँदा कोइराला पक्षका ८ जनाले केदार कार्कीलाई मुख्यमन्त्रीका लागि हस्ताक्षर गरेका छन् ।

९२ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सांसदको समर्थन आवश्यक छ । माओवादीका नेता आङ्वोले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । आङवोले पनि केदार कार्कीसहित ८ सांसदको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

कांग्रेसका ८ जना सांसदले प्रदेश प्रमुख समक्ष सनाखत गर्दै आङ्बोको दाबी खारेज गर्न माग गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने नजिर छ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले विद्रोह गर्ने सांसदबारे निर्णय लिन शुक्रबार प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

Published : Thursday, 2023 October 12, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया