प्यूठानका गुप्तचर क्षेत्रीविरुद्ध अख्तियारद्वारा आरोप पत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृत (गुप्तचर) पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीको सर्टिफिकेट नक्कली भएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

बिहीबार आयोगले विशेष अदालतमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्यूठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत क्षेत्रीविरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सर्टिफिकेट छानविन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्यूठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत क्षेत्रीविरुद्ध उजुरी परेको थियो ।

माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरु नियुक्ति भई बरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भै सरकारी लाभ तथा सुविधा लिएको देखिएको अख्तियारले जनाएको छ ।

क्षेत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दाहालले बताएका छन् ।

Published : Thursday, 2023 October 12, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया