रिगलविरुद्ध हल्लाखल्ला गरेकी चेतनकी पूर्वपत्नीको रिटमा हेर्न नमिल्ने

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको संयुक्त इजलासले योगराज ढकाल ‘रिगल’विरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेका छन् ।

बिहीबार भएको पेशीमा यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले बाँकी कैद मिनाहाविरुद्धको मुद्दा हेर्न नमिल्ने भनेपछि तत्कालका लागि रिगललाई राहत मिलेको छ ।

४० प्रतिशत कैद भुक्तान गरेका अभियुक्तलाई कैद मिनाहा दिन मिल्ने भन्दै सर्वोच्चले नै आदेश दिएको नजिर वकिलहरूले पेश गरेका थिए ।

वकिलहरूले अरू विभिन्न नजिरहरू प्रस्तुत गरेका छन् । यो मुद्दा हेर्न मिलेन भनेर न्यायाधीशहरूले कात्तिक १४ लाई पेशी तोक्ने आदेश गरेका छन् ।

कुनै पनि मुद्दामा न्यायाधीशहरूले पहिल्यै धारणा व्यक्त गरिसकेको भए त्यस्तो मुद्दा फेरि आएमा प्रभावित हुनसक्ने भन्दै ती मुद्दाहरू न्यायाधीशहरूले हेर्न नमिल्नेमा राख्छन् ।

चेतन मानन्धरकी पूर्वपत्नी भारती शेर्पा मानन्धरको पक्षबाट वकिलहरू बालकृष्ण न्यौपाने र शंकर कटुवालले बहस गरेका थिए ।
सरकारको तर्फबाट महान्यायाधिवक्ता दीनमणि पोखरेलले बहस गरेका थिए ।

भारतीले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर असोज १८ गते रिट दायर गरेकी थिइन् । रिगल संविधान दिवसको दिन बाँकी कैद मिनाहा हुने गरेर दाङको कारागारबाट छुटेका थिए ।

Published : Thursday, 2023 October 12, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया