कृषिमा आत्मनिर्भर बनाउन राजनीतिक इच्छाशक्ति आवश्यक : सभापति डा.राणा

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणाले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने बताएकी छिन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा डा.राणाले सरकारले नीति बनाएर मात्रै नहुनेभन्दै त्यसका लागि इच्छाशक्ति महत्वपूर्ण रहेको बताएकी छिन् । उनले कृषि क्षेत्रमा बंगलादेशले गरेको प्रगति र उन्नतिको उदाहरण दिएकी छिन् ।

उनले भनिन्, ‘बङ्गलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं ।’

‘बंगलादेशमा इकोसिस्टम बेस्ड कृषि हुँदो रहेछ, कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्’, डा.राणाले भनेकी छिन् ।

बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न गरेको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने उनले बताएकी छिन् ।

डा.राणाले किसानलाई सरकारले सहुलियत दिनुका साथै धानको मूल्य अग्रिम तोक्ने र बजारको पनि सुनिश्चिता गरिदिने गरेको बताइन् ।

‘जमिन नेपालको भन्दा कम उर्बर छ । उनीहरूले माटो सुहाउँदो कृषि गर्ने गरेको हामीले पायौं’, डा.राणाले भनेकी छिन्, ‘सरकारले किसानलाई ७० प्रतिशतसम्म सहुलियत दिने गरेको रहेछ ।’

‘सरकारले कृषिबालीको बजार मूल्य तोक्ने र बजारसम्म पनि पुग्ने व्यवस्था गरिदिने भएपछि त्यहाँका किसान कृषिमा बढि आकर्षित भएका छन्’, डा.राणाले भनेकी छिन् ।

समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ । सभापति डा.राणाले नेपाली सुपारीले बजार नपाएको गुनासो आएकाले त्यसलाई सम्बोधन हुनेगरी पहल लिन लागिएको बताइन् ।

नेपाली सुपारी किसानहरूको मारलाई सम्बोधन गर्नका लागि तत्काल अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयुक्त बैठक बोलाई त्यसको निकास हुनेगरी छलफल गर्न लागिएको बताइन् ।

नेपालमा करिब १४ हजार मेट्रिक टन सुपारी बिक्री वितरण नभएर सड्ने अवस्थामा रहेको गुनासो किसानहरुले गरेपछि त्यसको निकासका लागि आफूले सम्बन्धित पक्षसँग छलफल गरी निकासीका लागि सरकारलाई निर्देशन दिन लागिएको समितिकी सभापति डा.राणाको भनाई थियो ।

समितिले माछा पालक किसानहरूको समस्या समाधानका लागि पनि आन्तरिक छलफल गरी सरकारलाई सो सम्बन्धमा सचेत गराउने तयारी गरेको छ ।

Published : Wednesday, 2023 October 11, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया