अरुकोभन्दा हामी आफैभित्रको आलोचना बढी गर्छौं, कांग्रेसभित्रको समस्या हो : अर्थमन्त्री डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीमा विपक्षीको भन्दा पनि आफ्नै आलोचना र विरोध गर्ने क्रम बढेको बताएका छन् ।
शुक्रबार चितवनमा भएको कार्यक्रममा बोल्दै उनले व्यक्तिगत स्वतन्त्रताको कारण अनावश्यक विषयमा पनि अभिव्यक्ति दिने क्रम बढेको बताए ।
‘अरुकोभन्दा हामी आफैभित्रको आलोचना बढी गर्छौँ, यो कांग्रेसभित्रको समस्या हो’, उनले भने, ‘हामी विपक्षीबारे खासै बोल्दैनौँ, आफ्नै साथीभाइ र पार्टीका बारेमा ज्यादा बोल्छौँ ।’
प्रवक्ता डा.महतले भने, ‘हामी ठूलो संख्यामा छौँ, व्यक्तिगत स्वतन्त्रमा विश्वास गर्छौँ । जसले गर्दा सबै कुरा अभिव्यक्त गर्नुपर्ने ठाउँमा पनि हुन्छ, नगर्नुपर्ने ठाउँमा पनि हुन्छ ।’
अर्थमन्त्री डा.महतले कांग्रेस ठूलो पार्टी र विस्तारित परिवार भएको बताए । विस्तारित परिवारमा समस्या आउने, प्रश्न उठ्ने, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुने विषय नौलो नभएको उनले बताएका छन् ।
‘अहिले हामी संघर्षको राजनीतिमा छैनौँ, सत्ता राजनीतिमा छौँ’, उनले भने, ‘संघर्ष राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिन र लिने दुवै हुन्छ ।’
‘मैले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने राजनीतिमा आज हामी छौँ’, डा.महतले भने, ‘संख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउँदैनन् ।’
यसैबीच, अर्थमन्त्री डा.महतले सरकारले अहिलेदेखि नै आउँदो आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने बताएका छन् ।
उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्ने बताए । सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत आवश्यक क्षेत्रको पहिचान गरी आउँदो वर्षको बजेट विनियोजन गर्नुपर्ने उनले बताएका छन् ।
सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनले बताएका छन् । उनले सामाजिक सुरक्षा र वैदेशिक ऋणको दायित्व बढिरहेको बताएका छन् ।
अर्थमन्त्री डा.महतले स्रोतसाधन न्यून र आवश्यकता धेरै भएको भन्दै त्यसलाई चिरेर काम गर्नुपर्ने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया