कांग्रेस सांसद राणाद्वारा छम्कीका भूमिहीनलाई निस्सा वितरण

काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले बताएका छन् ।

समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।

सांसद राणाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताएका छन् । उनले भने, ‘लोकतन्त्र र मानवतामा कोहीको भूमि हुने, कोहीको नहुने भन्ने हुँदैन । कसैको घटी, कसैको बढी होला । तर सबै नेपालीको भूमिमाथि अधिकार हुनुपर्छ ।’

पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्दै नेता राणाले तीन–चारपटक भूमि सुधार नीति अगाडि बडेको बताएका छन् ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताएका छन् ।

भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गरेका छन् । उनले पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताएका छन् ।

निस्सा वितरण कार्यक्रममा नगरउपप्रमुख मुना अधिकारी, वडाध्यक्ष आत्मराम थापालगायतको उपस्थिति थियो ।

Published : Friday, 2023 October 6, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया