शर्माद्वारा प्रधान सेनापति ट्रफीको उद्घाटन
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्रधान सेनापति ट्रफी–२०८० खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् ।
काठमाडौंमा बिहीबारदेखि शुरु भएको प्रतियोगिता असोज ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेनापति ट्रफिमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षा सम्बन्धी जिम्मेवारी समेत निर्वाह गरिरहेको नेपाली सेनाले यस वर्षको बाघ गणनामा बाघको संख्या दोब्बरभन्दा बढी भएको उत्साहपूर्ण उपलव्धिको स्मरणमा यस वर्षको प्रधान सेनापति ट्रफिमा बाघलाई मास्कटको रूपमा राखी उद्घाटन समारोहमा बाघको मास्कट समेत प्रदर्शन गरिएको छ ।
सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी तथा सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्र्याक एण्ड फिल्ड च्याम्पियनसिपको म्याराथन विधामा पहिलो अन्तर्राष्ट्रिय पदक (कास्य) हासिल गरी नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउन सफल नेपाली सेनाका ओलम्पियन जमदार जीतबहादुर के.सी. (अ.प्रा.)लाई पदक प्राप्त गरेको स्वर्ण जयन्तीका उपलक्ष्यमा प्रधान सेनापति शर्माले कदर पत्र प्रदान गरेका छन् ।
महिला ८०० मिटर दौड तथा पुरुष ४ह्४०० मिटर रिले दौडका विजेताहरूलाई शर्माले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू सञ्चालन हुनेछन् ।
नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि शुरु भएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया