बझाङाका भूकम्पपीडितलाई उद्धार र राहतका लागि कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले बझाङ जिल्लाका भूकम्पपीडितलाई उद्धार र राहतका लागि अपील गरेको छ ।

बुधबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको नोक्सानीप्रति दु:ख व्यक्त गरेको छ ।

‘बुझाङ जिल्लामा मंगलबार गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ’, कांग्रेसले भनेको छ ।

सभापति देउवाले भने, ‘युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरूको तत्काल खोजी, भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गर्दछु ।’

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले आग्रह गर्दै विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गरेका छन् ।

Published : Wednesday, 2023 October 4, 2:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया