केसी परिवारको कार्यक्रममा ज्वाइँ प्रमुख अतिथि, शेखर–धनराजद्वारा बहिस्कार

काठमाडौं । केसी परिवारको कार्यक्रमलाई नेपाली कांग्रेसका नेता शेखर कोइराला, उप–सभापति धनराज गुरुङ र नेता बलबहादुर केसीले बहिस्कार गरेका छन् ।

आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेला राखेका थिए । केसी परिवारले राखेको कार्यक्रममा शेखर कोइराला समूहका धेरै नेताहरू अनुपस्थित भएका छन् । केसी परिवारले ‘नेपाली कांग्रेस रूपान्तरण अभियान’को नाममा कार्यक्रम राखेको थियो ।

कार्यक्रममा नेता शेखर कोइराला, उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेललाई प्रमुख वक्ताका रूपमा आमन्त्रण गरिएको थियो ।

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको गुटको कार्यक्रम शेखर कोइराला, उप–सभापति गुरुङ र बलबहादुर केसीले बहिस्कार गरिदिएका छन् ।

गुटको भेला नेता जगदिशनरसिंह केसीको सभापतित्वमा भएको थियो । कार्यक्रममा महामन्त्री गगनकुमार थापा प्रमुख अतिथि थिए । गगनका ससुरा अर्जुननरसिंह केसी विशेष अतिथि थिए । कार्यक्रममा प्रदीप पौडेल, दिलेन्द्र बडू पनिसहभागी भएका थिए ।

महामन्त्री थापाको पारिवारिक सम्बन्ध रहेको केसी परिवारको विशेष पहलमा भएको कार्यक्रममा शेखर कोइराला सहभागी नभएपछि परिवारवादको विरोध गर्दै आएका गगन थापा ससुराको कार्यक्रममा नराम्रोसँग फसेका छन् ।

शेखर कोइरालाले पार्टीले नचिन्ने कांग्रेस रूपान्तरण अभियानको ब्यानरमा कार्यक्रम नराख्न सुझाव दिएका थिए । शेखर कोइरालालाई मनाउन आइतबार बिहान गोविन्द पोखरेल, देवराज चालिसे र जगदीशनरसिंह केसी गएका थिए ।

विशालनगरस्थित सचिवालयको कार्यालयमा शेखर कोइरालाले केसी परिवारको कार्यक्रममा आफू सहभागी नहुने भनेर सिधै अस्वीकार गरिदिएका थिए ।

पार्टी नेतृत्वविरुद्ध जति विद्रोह गर्ने हो, जित उफ्रिने हो, झगडा गर्ने हो विधानकै परिधिमा बसेर गरौँ भनेर केसी परिवारलाई शेखर कोइरालाले सन्देश पठाएका थिए ।

रूपान्तरण अभियानको पनि बागमती प्रदेश संयोजक मधु आचार्य भए पनि जगदीशनरसिंह केसीको भूमिका पनि शेखर कोइरालालाई चित्त बुझेको छैन ।

नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वविरुद्ध सामूहिक मत लिएर उभिन नसकिएको बताएका छन् । ‘पहिले केन्द्रीय समिति बैठकमा सामूहिक मत लिएर जाने अभ्यास थियो’, केसीले भने, ‘अहिले नेतृत्व (शेखर कोइराला)बाट त्यो अभ्यास पनि भएको छैन ।’

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि आएका थिएनन् । शर्मालाई केसी परिवारले बोलाएको थिएन । वक्ताको रुपमा व्यानरमा शर्माको तस्बिर र नाम थिएन ।

Published : Sunday, 2023 October 1, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया