पूर्वपश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना, दुई यात्रुको मृत्यु

काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

आइतबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २५ यात्रु दुर्घटनामा घाइते भएका छन् । मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उप–महानगरपालिका– २० का ५० वर्षीय अनिलकुमार झा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बसमा सवार २५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको मिर्चैया र २३ जनाको गोलबजारका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख (डीएसपी) जितेन्द्र बस्नेतले बताए ।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस दिउँसो अनियन्त्रित भएर चोहर्वामा गोलबजार नगरपालिका– ९ मा रहेको मारुती सिमेन्ट उद्योगनजिकै दुर्घटनामा परेको छ ।

बस अनियन्त्रित भएर राजमार्गदेखि छेउमा पल्टिएको थियो । बसका चालकका अनुसार स्प्रिङ पत्ता भाँचिएर बस अनियन्त्रित भएको थियो । बस एक राउन्ड पल्टिएकाले मानवीय क्षति हुन पुगेको छ ।

Published : Sunday, 2023 October 1, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया