ओखलढुंगा कांग्रेसका नेता खनालको काठमाडौंमा निधन, रामहरि खतिवडाद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ ।

आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ७३ वर्षीय खनालको निधन भएको जानकारी प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले खनालको आइतबार बिहान त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको जनाएका छन् ।

खनाल दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए । नेपाली कांग्रेसका पुराना नेता खनाल इमान्दार छवि भएका नेताको रूपमा परिचित थिए ।

सभापति खतिवडाले खनालको निधनबाट दु:ख व्यक्त गरेका छन् । उनले भने, ‘ओखलढुंगाका राजनीतिक मियो । हामीले सदाका लागि गुमाएका छौँ । हिजो (शनिबार) बिहान अस्पतालमा गएको थिएँ । अवस्था नाजुक थियो । आज विदेश छु ।’

‘उहाँको आत्माले शान्ति पाओस्, परिवारलाई धैर्य धारण गर्ने क्षमता मिलोस् । डिल्ली राम खनाल काका प्रति हार्दिक श्रद्धाञ्जलि ।’

Published : Sunday, 2023 October 1, 10:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया