मन्त्री खनालद्वारा सबै अस्पतालमा भएका उपकरणको जानकारी माग

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालका माध्यमबाट बुटवललाई गुणस्तरीय स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास गरिने बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी आयुर्वेद चिकित्सालय लगायतका अस्पतालको निरीक्षण पछि सरोकारवालहरूसँगको छलफलमा स्वास्थ्यमन्त्री खनालले प्रदेशभित्रको उपचार केन्द्रको रुपमा विकास भैसकेको लुम्बिनी प्रादेशिक अस्पताललाई अब सात प्रदेशको उत्कृष्ट उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । उनले स्वास्थ्य मन्त्रालयले सीमित बजेटका बीच पनि जनशक्ति, उपकरण र भौतिकपूर्वाधारमा लगानी गरिरहेको बताए ।

उनले प्रदेशका अधिकांश अस्पतालमा देखिएको जनशक्तिको अभाव व्यवस्थापनका लागि मन्त्रालयले तत्कालका लागि करारमा भए पनि जनशक्ति भर्ना गरेर स्वास्थ्यउपचार सेवालाई थप प्रभावकारी बनाउने नीति ल्याएको बताएका छन् ।

दुर्गम तथा पहाडी क्षेत्रका अस्पतालमा चिकित्सक जानै नमान्ने प्रवृत्तिको अन्त्य गर्न थप प्रोत्साहन रकमको व्यवस्था गरिएको स्वास्थ्यमन्त्री खनालले बताएका छन् । उनले कतिपय पदमा आवेदन नै नपर्ने समस्या देखिएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले अहिले प्रदेशका सबै अस्पतालमा भएका उपकरण र तिनको अवस्थाको बारेमा जानकारी माग गरेर मर्मत गर्न सकिने उपकरण मर्मत गरेरै भएपनि सञ्चालनमा ल्याइने उनले बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल देशभरमै दोश्रो धेरै प्रसुति गराउने अस्पतालको रुपमा रहेको छ ।

मन्त्री खनालले अस्पतालमा विस्तारित सेवा, न्यूरो एचडीयू, एनआइसीयू, एसएनसीयू, बाल तथा प्रसुति विभाग टिकट काउण्टर तथा ल्याब रिपोर्ट एसएमएस सेवाको उद्घाटन गरेका छन् ।

स्वास्थ्यमन्त्री खनालले लुम्बिनी आयुर्वेद चिकित्सालयले प्रदान गरिरहेको सेवा र चिकित्सालयको अवस्थाको बारेमा जानकारी लिदै आयुर्वेद उपचार पद्धतिको विकास र विस्तारका लागि सरकारले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताएका छन् ।

Published : Tuesday, 2023 September 26, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया