कांग्रेस र तीन तहका जनप्रतिनिधिबीच ठूलो खाडल देखे, बहस अनिवार्य भइसक्यो : उर्मिला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता थपलिया ‘उर्मिला’ तीन तहका जनप्रतिनिधि र पार्टीका बीच गहिरो खाडल रहेको बताएकी छिन् ।

शुक्रबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै थपलियाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका जनप्रतिनिधिहरू तथा कांग्रेसबीच समस्या रहेको बताइन् । उनले कांग्रेस नेतृत्वले छिटोभन्दा छिटो कांग्रेसका बीच जनप्रतिनिधिहरू भनेर अन्तरक्रिया र गोष्ठि गर्नु अनिवार्य रहेको बताइन् ।

उनले भनिन्, ‘मलाई पार्टीले पर्वत जिल्लामा खटाइएको थियो । म ११ दिनमा पार्टीको काम सकेर फर्किए । जनप्रतिनिधि र पार्टीका बीच ठूलो खाडल बन्दै गएको छ ।’

‘नेपाली कांग्रेसले तत्कालै छुट्टै खालको कार्यक्रम गरेर तीन तहको जनप्रतिनिधिलाई राखेर कांग्रेसले ठूलो बहस गराउनुपर्छ’, उनले भनिन्, ‘समुदायमा कांग्रेस भने जस्तो जनप्रतिनिधि र कांग्रेस भनेर सम्वाद र सहकार्य गर्न जरुरी देखेको छु ।’

पर्वत जिल्लामा दुई वटा नगरपालिका र ५ वटा गाउँपालिकामा पार्टीको राम्रो कार्यक्रम भएको उनले बताएकी छिन् । उनले आगामी दिनमा कार्यक्रम गर्दा समय परिस्थिति र मौसमलाई ध्यान दिएर गर्नुपर्ने बताएकी छिन् ।

नेतृ थपलियाले भनेकी छिन्, ‘महँगी बढेको छ । विदेश जानेहरूको संख्या बढेको छ । स्वदेशमा आफन्तको मृत्यु हुँदा विदेशमा रहेका आफन्त ६ महिनामा काजक्रिया गर्छु भन्ने समय आउन सक्छ ।’

‘युवाहरूलाई स्वदेशमा रोकेर राख्ने वातावरण बनाउनुपर्छ’, थपलियाले भनेकी छिन् ।

कांग्रेस नेतृ थपलियाले मिल्छ भने भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा राखेर संगठनको काम कारबाही र गतिविधिका बारेमा जानकारी माग्नुपर्ने सुझाव दिएकी छिन् ।

‘भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका प्रमुखहरूलाई बैठकमा बोलाएर सवाल जवाफ गर्न सकिने थियो’, उनले भनिन्, ‘संगठन निर्माणमा राम्रो रुप लिन सक्छ ।’

Published : Saturday, 2023 September 23, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया