पूर्वराष्ट्रपति डा.यादव वीर अस्पतालमा भर्ना

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन् ।

डा.यादवलाई उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि आइतबार वीर अस्पतालको भीआइपी कक्षमा भर्ना गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उप–कुलपति प्राध्यापक डा.भुपेन्द्रकुमार बस्नेतले पूर्वराष्ट्रपति डा.यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् ।

उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सह–महामन्त्री यादवको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

डेंगी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका मन्त्री कार्कीको अवस्था पनि सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

Published : Sunday, 2023 September 10, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया