सडकमा राखेको ट्रकका कारण बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । बाँके जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार राति दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस कोहलपुरको शम्शेरगञ्जमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा–९ का ५० वर्षीय काँशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, जयन्ती थारु, ६५ वर्षीय साँधुराम थारु र ४५ वर्षीय जुगबहादुर चन्द रहेका छन् ।

मृतक एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ । नाम र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाडीका स्टाफ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । १२ जना मध्यम र १५ जना यात्रु सामान्य छन् । बसमा ४१ यात्रु रहेका थिए । त्यसमध्ये ५ जनाको सकुशल उद्धार गरिएको छ ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको बस बाँकेको शम्शेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।

सडकमा पार्किङ गरेर राखिएका सवारी साधनका कारण धेरै दुर्घटना भइसकेका छन् । सडक दुर्घटना रोक्नका लागि सुरक्षा निकायले सडकको पेटीमा जथाभावी अव्यवस्थित रुपमा राखिएका सवारी साधनलाई कारबाही गर्नुपर्छ ।

Published : Saturday, 2023 September 9, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया