सामाजिक कार्यसहित राङजुङ येशे शेनफेनले मनायो छ्योकी नीमा रिन्पोछेको ७२औँ जन्मोत्सव

काठमाडौं । कानिङ सेडुप लिङ गुम्बाका प्रमुख श्रद्धेय गुरुवर छ्योकी नीमा रिन्पोछेको ७२औँ जन्मोत्सव विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

सोमबार काठमाडौंको बौद्ध रामहिटीमार्गस्थित सेतो गुम्बामा रिन्पोछेको जन्मोत्सव रक्तदान लगायतका सामाजिक कार्यहरू गरेर भक्तजनहरूले मनाएका हुन् । राङजुङ येशे शेनफेनले सेतो गुम्बामार्फत हुने सबै सामाजिक कार्यहरू गर्दै आएको छ ।

जन्मोत्सव मनाउने क्रममा वृक्षारोपण, रक्तदान, असक्त र विपन्नहरू खाना खुवाउने, विद्यार्थीलाई विद्यालय पोशाक वितरण लगायतका कार्यहरू भएको सेतो गुम्बाका निर्देशक छुल्ठिम दोर्जे लामाले बताएका छन् ।

बौद्ध क्षेत्रमा करीव एक सय वृक्षारोपण गरिएको छ । कीर्तिपुरस्थित बेबी लाईफ होमका बालबालिकालाई रिन्पोछेको जन्मोत्सवका अवसरमा खानपानका साथै विशेष कार्यक्रम गरिएको छ । बेबी लाईफ होममा रहेका बालबालिकालाई हरेक वर्ष रिन्पोछेको जन्मोत्सवका अवसरमा खाना खुवाउने, केक खुवाउने लगायतका कार्यहरू हुने गरेका छन् । होममा बाबुआमाका कारण एचआईभी संक्रमित बालबालिकाहरू रहेका छन् ।

सुन्दरीजलस्थित होप एण्ड च्यालेञ्ज नामक संस्थामा रहेका अभिभावक विहीन बालबालिकालाई खाना खुवाउने कार्य पनि गरिएको निर्देशक लामाले बताएका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका अति विपन्न, असक्त व्यक्तिहरूलाई रिन्पोछेको जन्मोत्सवका अवसरमा खाना खुवाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा राङजुङ येशे शेनफेनले रक्तदान कार्यक्रम गरेको छ । सो रक्तदान कार्यक्रममा उत्पाला क्याफे, बौद्धले समेत सहकार्य गरेको थियो । सेतो गुम्बामा अध्ययनरत विद्यार्थी र भक्तजनहरूले रक्तदान गरेको निर्देशक लामाले बताए । रक्तदान करीव एक सयले गरेका छन् ।

जन्मोत्सवका अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक पनि वितरण गरिएको छ । श्री ऐसेलुखर्क सेकेण्डरी स्कूल, सिन्धुपाल्चोकका ४५० विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको सेतो गुम्बाका निर्देशक लामाले बताएका छन् ।
रिन्पोछेको जन्मोत्सव मनाउने क्रममा सेतो गुम्बाका भिक्षु, भिक्षुणी, धर्मज्ञान विद्यालयका विद्यार्थी तथा कर्मचारीलगायतको उपस्थितिमा जन्मोत्सव मनाइएको सेतो गुम्बाका निर्देशक लामाद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

निर्देशक लामाले भने, ‘श्रद्धेय गुरुवर छ्योकी नीमा रिन्पोछे धार्मिक कार्यक्रमका लागि युरोपमा हुनुहुन्छ । उहाँकै आज्ञामा हामीले ७२औँ जन्मोत्सव विभिन्न सामाजिक कार्यहरू गरेर मनाएका छौँ ।’

सेतो गुम्बाका भिक्षु समेत रहेका राङजुङ येशे शेनफेनका संयोजक उर्गेन दोर्जे लामा, सेतो गुम्बाका निर्देशक छुल्ठिम दोर्जे लामा, भक्तजन, स्वयंसेवकलगायतको उल्लेख्य उपस्थित रहेको थियो ।

Published : Monday, 2023 September 4, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया