‘महारानी भाउजु’बारे बालेनको दाबी सीसीटीभी फुटेजसँग मिलेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’की श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै नगर प्रमुखको सचिवालयले विभिन्न अस्वभाविक आरोपहरू लगाएको छ ।

सविना काफ्ले सवार सरकारी गाडीमा प्रहरीले चेकजाँच गरेको विषयमा बालेनले दिएको आपत्तिजनक अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि आइतबार नगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ ।

सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा अनावश्यक केरकार गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए’, विज्ञप्तिमा भनिएको छ ।

‘जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए’, विज्ञप्तिमा भनिएको छ, ‘सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे ।’

‘नगर प्रमुखसहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो’, विज्ञप्तिमा भनिएको छ ।
ट्राफिक प्रहरीले श्रीमती चढेको गाडी रोकेर सोधपुछ गरेपछि नगरप्रमुख शाहले सिंहदरबार जलाउने धम्की दिँदै चोर सरकार भनेर लेखेका थिए ।

ट्राफिक प्रहरीले करिब ७ मिनेट उक्त सवारी साधनलाई रोकेर राखेको मेयर शाहको सचिवालयले विज्ञप्तिमा दाबी गरेको छ । तर, ट्राफिक प्रहरीले २२ देखि २७ सेकेण्ड मात्रै सोधपुछ गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको जनाएको छ ।

‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अबलम्ब नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो’, विज्ञप्तिमा शाहको सचिवालयले भनेको छ ।

‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ’, विज्ञप्तिमा उल्लेख छ । मेयर शाहको सचिवालयले त्यस क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको आरोप पनि लगाएको छ ।

‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो’, शाहको सचिवालयले भनेको छ ।

‘कानूनको उल्लंघन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ ।

बालेनको सचिवालयले घटनाका बारेमा गृह प्रशासनले भ्रमक सूचना दिएको आरोप लगाएको छ ।

मेयर शाहको सचिवालयले गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याउन माग गरेको छ ।

शनिबार साँझ भएको उक्त घटनापछि मेयर शाहले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाको सवारी साधन आगामी दिनमा रोकिए सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै चोर सरकार भनेका थिए ।

नगरप्रमुख शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा सिंहदरबारमा आगो लगाउने र चोर सरकार भनेको बारेमा केही भनेको छैन । नगरप्रमुख बालेनकी पत्नी कुनै महारानी होइनन् । संविधान र कानूनभन्दा माथि छैनिन् । चेकजाँचका लागि बसेको सुरक्षाकर्मीले सोधपुछ गर्नु दायित्व हो ।

ट्राफिक प्रहरीले २२ देखि २७ सेकेण्ड मात्रै सोधेर पठाएको घटनालाई मादक पदार्थ सेवन गरेर लठ परेका नगरप्रमुख बालेनले आफ्नो मर्यादा भुलेर जसरी सामाजिक सञ्जालमा लेखेका छन् त्यो शोभनीय छैन ।

Published : Sunday, 2023 September 3, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया