प्रदीप यादव संसदमा बोलेपछि कुलमान होसमा आए, डेडिकेटेड लाइनको वक्यौता तिर्न निकाले सूचना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत महसुल बुझाउन १५ दिने अल्टिमेटम दिएको छ ।

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले संसदमा आवाज उठाएपछि प्राधिकरणले आइतबार सूचना जारी गरेर डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत महसुल १५ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

सांसद यादवले सर्वसाधारणलाई अन्धकारमा राखेर उद्योगी व्यापारीलाई डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विजुली दिने र वक्यौता नतिर्दा पनि कानमा तेल हालेर बसेको भन्दै संसदबाट आलोचना गरेका थिए ।

यसमा प्रबन्ध निर्देशक कुलमान घिसिङको मिलेमतो छैन भनेर आशंका जनाएपछि प्राधिकरणले आइतबार १५ दिने अल्टिमेटम दिएर सूचना निकालेको छ ।

‘नेपाल विद्युत प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रङ्क लाइन मार्फत विद्युत सप्लाई लिई सो बापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका सम्पूर्ण उपभोक्ताहरूलाई नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ को विनियम २७ (६) बमोजिम सम्बन्धित वितरण केन्द्रहरूबाट बक्यौता महसुल बुझाउन पटक/पटक पत्राचार गरिएकोमा हालसम्म पनि बक्यौता महसुल नबुझाएको हुँदा आवश्यक भएमा ऐ. विनियमावलीको विनियम २८ बमोजिम किस्ताबन्दीको सुविधा समेत प्राप्त गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बक्यौता महसुल बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

‘तोकिएको समय सीमाभित्र बक्यौता महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ’, सूचनामा उल्लेख छ ।

Published : Sunday, 2023 September 3, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया