नयाँ नक्साबारे चीनलाई औपचारिक जानकारी दिइएको रहेनछ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका छन् ।

आइतबार ओखलढुंगाका पत्रकारहरूसँग कुरा साउदले आफूहरू नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताए । उनले छिमेकीसँगको सीमा विवाद कूटनैतिक च्यानलबाट समाधान गर्ने पनि बताएका छन् ।

मन्त्री साउदले विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताएका छन् । ‘कहिलेकाहिँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक–पटक देखिने गर्‍या छ’, उनले भने, ‘विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरूमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन ।’

उनले भने, ‘बाहिर चाहिँ त्यो बेलाको जिम्मेवारीमा रहेका महत्वपूर्ण साथीहरूले हामीले नक्सा पठायौं भन्ने किसिमको जानकारी गराएको भए पनि सम्बन्धित देशलाई त्यो नोट गइसकेको या नगइसकेको भन्नेबारेमा मैले सम्बन्धित आफ्नो मन्त्रालयको सम्बन्धित महाशाखामा बुझ्दाखेरि त्यस्तो नोट गएको जस्तो जानकारी प्राप्त भएको छैन ।’

‘नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेको छ । जारी गरिसकेपछि हामी आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ’, उनले भने ।

उनले सीमाको बारेमा कहिँ विवाद भए कूटनीतिक वार्ता र सम्वादबाट निप्टारा गर्नुपर्ने नेपाल सरकारको नीति रहेको उनले जानकारी गराएका छन् ।

‘हामी यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्ने भन्दा पनि सबै देशहरूसँग कूटनैतिक सम्वाद, छलफल गरेर यो विवादको समाधान गर्न चाहन्छौं’, उनले भने ।

पत्रकार सम्मेलनमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2023 September 3, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया