‘सिंहदरबारमा आगो लगाइदिन्छु, चोर सरकार’ भनेको भए मलाई हत्कडी लाग्थ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’बाट उनका मतदाताहले निकै ठूलो अपेक्षा राखेका थिए ।

पत्नी चढेको सरकारी गाडीमा ट्राफिकले कोटेश्वरमा सोधपुछ गरेको झोँकमा शनिबार राति बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । त्यति मात्रै होइन बालेनले केन्द्र सरकारलाई चोर भनेर लेखेका छन् ।

बालेनले भनेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

काठमाडौं महानगरपालिकाभित्र बस्ने मतदाताको अत्याधिक लोकप्रिय मतसहित निर्वाचित भएका बालेनको यो अभिव्यक्ति जनप्रतिनिधिका लागि सुहाउने भाषा होइन । आफ्नी पत्नी चढेका सरकारी गाडीलाई सोधपुछ गरेको विरोधमा सिंहदरबारमा आगो लगाउने र चेतावनी दिने बालेनबारे समयमा गम्भीर भएर सोँच्नुपर्ने बेला आएको छ ।

उता, धरान उप–महानगरपालिकामा पनि नगरप्रमुख हर्कराज राईले जातीय द्वन्द्व बढाउने गरेर हर्कत गरिरहेका छन् । बालेनले काठमाडौंमा अपराधपूर्ण अभिव्यक्ति दिएका छन् ।

बालेन र हर्कराज तुलनात्मक रुपमा बराबर छन् । उनीहरूको सामाजिक सञ्जाल निकै अभद्र अशिष्ट लेखिएका छन् । जनप्रतिनिधिबाट यस्ता अराजक अभिव्यक्तिको मतदाताले खोजेका होइनन् ।

सरकार बलियो छ र कानून राज छभने बालेन र हर्कराजलाई तत्काल पक्राउ गरेर कानूनअनुसार कारबाही गर्नुपर्छ ।

जनप्रतिनिधि हुँ भन्दैमा जे पनि गर्ने छुट कसैलाई छैन । सर्वसाधारण एउटा व्यक्तिले सिंहदरबारमा आगो लगाएर जलाइदिन्छु भनेको भए त्यो नागरिकलाई के हुन्थ्यो ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले सिंहदरबारमा आगो लगाउने धम्की दिने बालेनलाई कारबाही गर्ने हिम्मत राख्छन् ? श्रेष्ठ र कुँवरले तत्काल बालेनलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ । बालेनलाई पक्राउ गर्दा हुन सक्ने विरोध वा प्रदर्शनबाट सरकार डराउनु हुँदैन । होइन भने मुलुकमा अराजकता मौलाउनेछ । अराजक तत्वले खुच्चिङ गरेर गतिविधि गर्नेछ ।

बालेनले फेसबुकमा स्टाटस लेख्नुभन्दा अगाडि दरबारमार्गको लण्डन पवमा तीन जना साथीहरूसँग शनिबार बियर पिएका थिए । बियर पिउने क्रममा नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न जाने भन्दै श्रीलंकाको टिकट पनि काटेको चर्चा छ । त्यसपछि तीनै जना घर नजिकै पायक पर्ने रेष्टुरेन्ट कटिया हाउस, सिनामगल पुगेका छन् ।

त्यही बेला मेडिसिटीमा एक हप्ता अगाडि छोरी जन्माएकी पत्नी डिस्चार्ज भएर आउने क्रममा सुत्केरी श्रीमतीलाई कोटेश्वरमा ट्राफिकले विदाको दिन सरकारी गाडी किन चढेको भनेर केरकार गरेको थियो ।

त्यो सुनेर बालेनले झोँकमा सिहदरवारमा आगो लगाइदिने चेतावनी दिएका छन् । भाउजु अर्थात बालेनकी पत्नी मात्रै यो मुलुकी महिला होइनन् । बालेनले अराजक अभिव्यक्ति दिएर प्रजातन्त्र र कानून राज्यको उपहास गरेका छन् ।

बालेनसँग निष्ठा, सिद्धान्त, संगठन केही पनि छैन । उनी सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नगर प्रमुखमा निर्वाचित भएका हुन् । राजनीतिक दलको नेतालाई मात्रै डर, त्रास, उत्तरदायित्व रहन्छ । उनको त संगठन नै नभएपछि उत्तरदायी हुन कुरै भएन ।

Published : Sunday, 2023 September 3, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया