चीनको अहँकार र दादागिरीको बालेनद्वारा विरोध, भ्रमण नै रद्द गरिदिए

काठमाडौं । चीनले साम्राज्यवादी सोँचका साथ नेपालमाथि हेपाहा प्रवृत्ति देखाएपछि काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह ‘बालेन’ले असन्तुष्टि जनाउँदै चीन भ्रमण रद्द गरेका छन् ।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ प्रस्थान गर्ने कार्यतालिका तय भएको थियो । चीनको दादागिरीप्रति विरोध जनाउँदै बालेनले आफ्नो भ्रमण रद्द गरेर चीनको कदमप्रति असहमति जनाएका छन् ।

चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइएको भन्दै बालेनले चीन भ्रमण रद्द गरेको बताएका छन् ।

चीन विश्वको शक्तिबाली राष्ट्र होला । धनी राष्ट्र पनि होला । तर, चीनले नेपालको राष्ट्रियतामाथि गरेको आक्रमणको विरोधमा नगरप्रमुख शाहले विरोध गरेर आफ्नो असहमति जनाएका छन् ।

बालेनले भने, ‘हामी नेपालले ०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ ।’

उनले भनेका छन्, ‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।’

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ’, बालेनले भने ।

‘त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, नगरप्रमुख बालेनले भनेका छन् ।

Published : Thursday, 2023 August 31, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया