सुन तस्करी काण्डमा मुछिएका राहुल पक्राउ, सीआईबीले हिम्मत गर्‍यो

काठमाडौं । सुन तस्करी काण्डमा मुछिएका माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका सह–महासचिव राहुल महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

बुधबार सीआईबीले राहुललाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन् ।

सीआईबीले राहुललाई विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले बताएका छन् । एसपी अधिकारीले राहुलका विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनले राहुललाई अदालतमा पेश गरेर म्याद थप गर्ने बताएका छन् ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ व्यापारी दावा छिरिङ लामासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले राहुलविरुद्ध मुद्दा चलाएको थिएन । स्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरूमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

Published : Wednesday, 2023 August 30, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया