चन्दा चौधरीको प्रश्न, ‘कांग्रेसका नेताहरूले मात्रै भ्रष्टाचार गरेका छन् ?’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले भ्रष्टाचारको विषयमा अनुसन्धान हुँदा आधार र प्रमाण जुटेपछि मात्रै पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आग्रह गरेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै सांसद चौधरीले कांग्रेसका नेताहरूले मात्रै भ्रष्टाचार गरेको जस्तो गरेर बदनाम गर्न खोजेको भनेर चिन्ता जनाइन् । उनले कांग्रेसका नेताहरूले मात्रै भ्रष्टाचार गरेका छन् ? भनेर प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘सम्पत्ति शुद्धीकरणको कुरा, सरकारी जग्गाको कुरा छ । के कांग्रेसको नेता मात्रै भ्रष्टाचारी गरेको हो ? भ्रष्टाचार नै नगरी, प्रमाण नै पत्ता नलागेर मिडियाको भरमा, फेक रेकर्डको भरमा, फेक न्यूजको भरमा, कांग्रेसका नेताहरूमाथि कारबाही हुने । अरुको प्रमाण छ । प्रमाण भएकालाई दुधले चोख्याएर, धोएर घरमा राख्ने । हाम्रा नेतालाई प्रमाण नै नभइ जेलमा राख्ने ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहप्रति लक्षित गर्दै सांसद चौधरीले भनिन्, ‘यहाँ लुगा फुकाउँदै माननीयज्यूहरू आफूलाई पीएचडी भन्ने माननीयहरू महिलालाई चरित्र हत्यागर्ने । महिलाको नाममा बोलिराख्ने । जे मन लाग्यो त्यही भन्ने । कांग्रेसको माननीयहरूलाई मात्रै यो देशमा कारबाही हुने ।’

‘हामीले कारबाही नगर्न भनेको होइन । नबोल्न भनेको होइन । फेक समाचारको भरमा पूर्वाग्रही भएर काम नहोस्’, चौधरीले भनिन्, ‘सत्यतथ्य प्रमाणित भएर कारबाही होस् । अनुसन्धान गर्ने निकायहरू छ । प्रमाणित भएपछि मात्रै पक्राउ गरेर कारबाही गर्नुपर्छ । हचुवाको भरमा जनता वा अरु कसैलाई पनि पक्राउ गर्न पाइँदैन ।’

सांसद चौधरीले भनेकी छिन्, ‘कांग्रेसको नेताहरूलाई मात्रै आक्रमण नगर्नुस् ।’ गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पूर्वाग्रही भएर कांग्रेसका नेता र सांसदहरूलाई पक्राउ गर्न आदेश दिएर थुनाएका छन् ।

सुन तस्करी काण्डमा सीआईबीले प्रतिवेदन बनाएर माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम सार्वजनिक गर्दा समेत गृहमन्त्री श्रेष्ठले कारबाही गर्न दिएका छैनन् । मन्त्री श्रेष्ठको पूर्वाग्रही कुराप्रति कांग्रेसकी सांसद चौधरीले आक्रोश पोखेकी छिन् ।

Published : Tuesday, 2023 August 29, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया