डा.राणा र खतिवडासहित दश समितिका सभापतिहरूले शपथसँगै जिम्मेवारी सम्हाले

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतका संसदीय समिति सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारमा सोमवार सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का राजकिशोर यादवले शपथ लिएका छन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी डा.आरजु राणा देउवा निर्वाचित भएकी छिन् ।

महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा अब्दुल खान निर्वाचित भएका छन् ।

समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन् ।

सर्वसम्मत भएका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएपछि आ–आफ्नो कार्यकक्षमा पुगेर जिम्मेवारी समेत सम्हालेका छन् ।

Published : Tuesday, 2023 August 29, 12:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया