एनजिओको कार्यक्रम विदेशी राष्ट्रिय गान, मुख्यमन्त्री चौधरीद्वारा बहिस्कार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालको राष्ट्रिय गीतको अपमान गरेको भन्दै एनजिओको सार्वजनिक कार्यक्रमबाट बाहिरिएका छन् ।

नेपाली भूमिमा विदेशी राष्ट्रिय गीत बजाएर कार्यक्रमको शुरुआत गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।

शुक्रबार भैरहवामा भएको सामाजिक क्षेत्रमा क्रियाशील संस्था किवानीज इन्टरनेशनल नेपालको पाँचौँ डिष्ट्रिक महाधिवेशनको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गीतको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको शुरुआत गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले बताए ।

कार्यक्रमको सुरूमै आयोजकले राष्ट्रगानमा सरिक हुन भन्दै प्रमुख अतिथि मुख्यमन्त्री चौधरी, अन्य अतिथी र सहभागीहरूलाई उठिदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री चौधरी, अन्य अतिथी र सहभागीहरू सबै उठेपछि फिलिपिन्सको राष्ट्रगानको धुन बज्न थाल्यो । कार्यक्रममा एकजना अतिथि फिलिपिन्सका नागरिक थिए ।

मुख्यमन्त्री चौधरीलाई लाग्यो विदेशी पाहुनाको सम्मानमा सो देशको राष्ट्रगान बजाएपछि नेपालको राष्ट्रगान बज्छ । आयोजकले नेपालको राष्ट्रगान नबजाएपछि चौधरीले कार्यक्रम बहिस्कार गरेका हुन् ।

मुख्यमन्त्री चौधरी कार्यक्रमबाट बाहिरिएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बिक लगायतको सरकारी टोली समेत कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।

९० वटा देशमा शाखा रहेको अमेरीकी संस्था किवानिजले विश्वभरिका बालबालिकाको क्षमता विकास, नेतृत्व विकास र खेलकुदका क्षेत्रको विकास गर्ने गरी कार्यक्रम गर्दै आएको छ ।

Published : Saturday, 2023 August 26, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया