कांग्रेससहितका दलद्वारा धरानको घटनाप्रति चिन्तित, कार्यक्रम स्थगित गर्न अपील
काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रसहितका राजनीतिक पार्टीहरूले धरानमा शनिबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
शुक्रबार धरानमा बसेको सर्वदलीय बैठकमा उपस्थित विभिन्न १३ वटा राजनीतिक पार्टीले निर्धारित कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेका हुन् । उनीहरूले विज्ञप्ति जारी गरेर सामाजिक सदभाव खलबलिने कुनै गतिविधि नगर्न तथा सामाजिक सञ्जालहरूबाट त्यस्ता सामग्रीहरू सेयर नगर्न पनि अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयलाई सर्वपक्षीय–सर्वदलीय वार्ता संवादको माध्यमद्वारा समाधान गर्न हामी प्रतिबद्ध छौँ ।’
‘शनिबार भदौ ९ गते सम्बन्धित पक्षहरूबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौँ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
धरानमा देखिएको असहज परिस्थितिले एक–अर्काबीचको सदभाव, संहिष्णु वातावरण बिथोलिने आशंका उत्पन्न भएकाले चिन्तित बनाएको भन्दै १३ दलले वार्ता–संवादको माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि जनाएका छन् ।
‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात् गर्दै सबै जाति, धर्म, समुदायले एक–आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
केही अराजक समूहले धरानमा गाई र गोरु काटेर सामूहिक भोज गरेपछि विवाद उत्पन्न भएको छ ।
धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राईले धार्मिक विवादलाई समाधान गर्नुको साटो आगोमा घ्यू थप्ने गरेको भनेर आलोचना भइरहेका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया