डोटीका विश्वम्भर प्रधानन्यायाधीशमा सर्वसम्मतिबाट अनुमोदन

काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाई विशेष समितिले विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि अनुमोदन गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदित गरेको हो । श्रेष्ठ सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश पनि हुन् ।

श्रेष्ठको नाम अनुमोदन भएको पत्र समितिले संवैधानिक परिषदमा पठाउनेछ । साउन १८ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । श्रेष्ठ प्रधानन्यायाधीशका रुपमा करिब १४ महिना रहनेछन् ।

डोटी जिल्लामा श्रेष्ठ बिक्रम संवत् २०१६ असोज २० गते जन्मिएका हुन् । कैलालीको धनगढीमा स्थायी बसोबास गर्ने श्रेष्ठ पछिल्लो समय काठमाडौंको कुलेश्वरमा बस्दै आएका छन् ।

६५ वर्षे उमेर हदका कारण उनी २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाशमा जानेछन् । श्रेष्ठ न्याय सेवाका कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतमा आइपुगेका हुन् । श्रेष्ठ ३१औं प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालत प्रवेश गर्नेछन् ।

कानूनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गरेका हुन् । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति लिएका श्रेष्ठ २०४१ पुष ११ गतेदेखि शाखा अधिकृतका रुपमा स्थायी भएका थिए । क्षेत्रीय अदालतमा नियुक्ति लिएका श्रेष्ठ २०४४ फागुन १४ गते उप–रजिष्ट्रार बनेका थिए ।

२०४५ जेठ ३ गतेबाट श्रेष्ठले न्यायाधीशका रुपमा काम गरेका थिए । न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ दार्चुला जिल्ला अदालतमा भएको थियो । डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौंमा जिल्ला न्यायाधीशका रुपमा काम गरेका थिए ।

२०६२ चैत १० गतेदेखि श्रेष्ठले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा कामकाज शुरु गरेका हुन् । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा उनको पहिलो पोष्टिङ बागलुङ इजलासमा भएको थियो । श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा न्यायाधीशका रुपमा काम गरेका थिए ।

पोखरामा रहँदा २०७० साउन ८ गते श्रेष्ठ पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश बनेका थिए । २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीशका रुपमा काम गरेका छन् ।

Published : Monday, 2023 August 21, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया