तस्करहरूद्वारा सुन तस्करीको बाटो परिवर्तन

काठमाडौं । प्रहरीले रसुवा जिल्लाबाट सुन जस्तो पहेँलो धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहेँलो धातु करिब २ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ पोखरी बस्ने २४ वर्षीय सुदीप शेर्पा र सोही गाउँपालिका–१ घर भएका ३० वर्षीय फुस्याङबु शेर्पा रहेका छन् ।

प्रहरी चौकी स्याफ्रूवेशीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेका पैदलयात्री सुदीपलाई बिस्कुट आकारको २ थानमा लुकाई छिपाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि सोही गाउँपालिका–२ टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंमा ६० किलो सुन पक्राउ परेका बेला रसुवामा दुई जना सुन तस्करहरू पक्राउ परेका छन् ।

Published : Sunday, 2023 August 20, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया