काठमाडौंमा कस्तो छ अपराधका उजुरीहरूको अवस्था ?

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जनाएको छ ।

शुक्रबार टेकुस्थित कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले बताए ।

प्रवक्ता समेत रहेका एसपी ढुङ्गेलले गत आर्थिक वर्षको साउन महिनाभन्दा चालु आर्थिक वर्षको साउन महिनामा अपराधका घटनामा वृद्धि भएको बताए ।

बैंकिङ कसूरमा सबैभन्दा बढी मुद्दा दर्ता भएको ढुंगेलले बताए । बैंकिङ कसूरमा पाँच सय ६०, अभद्र व्यवहारमा दुई सय ७९, भवितव्य ज्यानमा एक सय १९, चोरीसम्बन्धी कसूरमा ५५, ठगीमा ३५, लागू औषधमा ३१, आत्महत्यामा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७ र अन्य अपराधमा एक सय १९ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले मुद्दा दर्ता भएकामध्ये सात सय ६० जनालाई पक्राउ गरिसकेको एसपी ढुंगेलले बताएका छन् । पक्राउ पर्नेमा बैंकिङ कसूरमा दुई सय १२, अभद्र व्यवहारमा चार सय ३४, चोरीसम्बन्धी कसुरमा ८२, ठगीमा १२, लागू औषधमा ५१, जबरजस्ती करणीमा ३४, जुवामा एक सय १३ र अन्य अपराधमा एक सय ७८ रहेका छन् ।

गत वर्षको साउनमा मात्र विभिन्न अपराधमा एक हजार ४७ मुद्दा दर्ता भएको प्रवक्ता ढुङ्गेलले बताएका छन् । काठमाडौं प्रहरीले साउन महिनामा बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटी वृत्तमा हिरासतमा पुस्तकालयको व्यवस्था मिलाएको छ ।

एक महिनाको अवधिमा काठमाडौंका विभिन्न क्षेत्रबाट हराएका दुई सय ४९ व्यक्तिमध्ये एक सय ७१ जनालाई खोजी गरी सम्बन्धित परिवारलाई बुझाएको छभने चोरी, हराएर वा पाकेटमारी भएका दुई हजार दुई सय ८७ निवेदनमध्ये तीन सय ९७ निवेदनमाथि खोजी गरेर सम्बन्धित धनीलाई बुझाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

Published : Friday, 2023 August 18, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया