गिरफ्तार निर्माण व्यवसायीहरूलाई विनासर्त रिहाइ गर : रमेश शर्मा

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्माले शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी र सदस्यहरूको रिहाइको माग गरेका छन् ।

आइतबार बिहान ललितपुरमा रहेको सडक विभाग र सिचाइँ विभागमा धर्ना तथा तालाबन्दीका क्रममा प्रहरीले महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहितका पदाधिकारी र सदस्यहरूलाई गिरफ्तार गरेको थियो । उनीहरूको रिहाइ माग गरेर निर्माण व्यवसायीहरू जिल्ला प्रहरी परिसर ललितपुरमा छन् ।

शर्माका अनुसार आन्दोलनका क्रममा गिरफ्तार भएका व्यवसायीहरूलाई तुरुन्त छाड्न आफूहरूले माग राखेको बताए । उनले भने, ‘हाम्रो माग भनेको सरकारसँगको हो । प्रहरीले गिरफ्तार भएका निर्माण व्यवसायीहरूलाई विनासर्त छाड्नुपर्छ । शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका व्यवसायीहरूलाई छाड्नुपर्छ ।’

शर्माले काम सम्पन्न भएका आयोजनाहरूको भुक्तानी नहुँदा निर्माण व्यवसायीहरूलाई ठूलो समस्या भएको बताए । उनले भने, ‘हामीले पनि अरुलाई भुक्तानी दिनुपर्छ । समयमा भुक्तानी नहुँदा अरु कामलाई समस्या पर्छ । भक्तानीका कारण हामीले समयमा काम सम्पन्न गर्न नसक्नु भनेको राज्यलाई नै नोक्सानी हुन्छ ।’

निर्माण व्यवसायीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरूले आन्दोलन गर्दा समेत सरकारले वार्ता र सम्वादमा बोलाउने आँट गरेको छैन । निर्माण व्यवसायीहरूले भुक्तानी समयमा पाउन नसक्दा समस्यामा परेका छन् ।

निर्माण व्यवसायीहरूसँग सल्लाह गरेर सरकारले ठेक्काको म्याद थपबारे उचित निर्णय गर्नुपर्ने माग छ ।

Published : Sunday, 2023 August 13, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया