डा.लामाले स्थानीयको भावनाको कदर गर्दै लुम्बिनीको सम्पर्क कार्यालय नखोल्ने

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्तावबाट पछि हटेका छन् ।

शनिबार विज्ञप्ति जारी गरेर डा.लामाले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं लैजाने प्रस्ताव अगाडि नबढ्ने बताएका हुन् ।

काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव यसअघि नै आएकाले छलफलमा लैजाने भनिएपनि स्थानीयको भावना विपरीत अगाडि नबढ्ने उपाध्यक्ष डा.लामाले बताएका छन् ।

शुक्रवारको पदाधिकारी बैठकले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्ताव कार्यकारिणी समिति वा परिषद् बैठकमा पेश गर्ने निर्णय गरेको थियो ।

डा.लामाले प्रस्ताव आफ्नो तर्फबाट नभई कोषको कर्मचारीबाटै आएको बताएका छन् । उनले सबैको भावना अनुसार नै आफू अगाडि बढाउने बताएका छन् ।

डा.लामाले भनेका छन्, ‘बैठकमा कर्मचारीहरूबाट प्रस्ताव आएपछि आगामी बैठकमा प्रस्ताव गर्ने निर्णयमात्र गरिएको हो, काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने विषयमै स्थानीयबाट विरोध हुन्छ भने त्यो निर्णयमाथि पुनर्विचार भएको हो अब अगाडि बढ्दैन ।’

डा.लामाले आफू बुद्धजन्मस्थल लुम्बिनीलाई विभाजन गर्न नभई बनाउन आएकोले लुम्बिनीका स्थानीय बासिन्दाको भावनामा ठेस पुग्ने गरी कुनैपनि निर्णय नगर्ने बताएका छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने निर्णय गरेर गुपचुप राखिएको थियो । आलेको त्यो निर्णयलाई कोषका कर्मचारीले नवनियुक्त उपाध्यक्ष डा.लामा आउनेवित्तिकै बाहिर ल्याएका थिए ।

कोषले सम्पर्क कार्यालय स्थापनाका लागि मन्त्रालयमा कोठा उपलब्ध गराउन दुईपटक पत्र पठाएपनि मन्त्रालयले कोठा उपलब्ध नगराएपछि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्तावको विरोध भएको थियो । त्यसपछि डा.लामाले त्यो निर्णयलाई अगाडि बढाउन नदिने जनाएका छन् ।

Published : Saturday, 2023 August 12, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया