चीनमा महिला पत्रकारलाई चरम यातना, मावधअधिकार हनन्

लण्डन । चीनले अष्ट्रेलियाकी महिला पत्रकार चेङ लेईलाई जेलमा थुनेर राखेको छ ।

चेङ लेईलाई चीनले तीन वर्षदेखि जासुसीको आरोपमा थुनेर राखेको छ । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छिन् ।

चीनले चेङ लेईलाई जेलभित्रमा निकै यातना दिएर राखेको छ । चेङ लेईलाई वर्षमा १० घण्टा मात्रै घाममा उभिन दिने गरिएको छ ।

चेङ लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेर जेलभित्रको यातनाका बारेमा जानकारी गराएकी छिन् ।

४८ वर्षीय चेङ लेईलाई सन् २०२० को अगस्टमा चीनको गोप्य कुरा अर्को देशसँग बाँडेको आरोपमा पक्राउ गरिएको थियो ।

चेङ लेई त्यतिबेला चिनियाँ सरकारी टेलिभिजनका लागि व्यावसायिक टेलिभिजन एन्करको रूपमा काम गर्दै थिइन् ।

आफ्नो पत्रमा महिला पत्रकार चेङ लेईले लेखेकी छिन्, ‘मेरो कोठरीको झ्यालबाट सूर्यको किरण आउँछ । म वर्षमा १० घण्टा मात्र घाममा उभिन सक्छु ।’

चेङ लेईले आफ्नो चिठ्ठीमा लेखेकी छिन्, ‘विगत तीन वर्षदेखि मैले एउटा रुख पनि देखेको छैन । म नदी, ताल, समुद्र तट र पिकनिकस्थल मिस गर्छु ।’

‘म मेरा बच्चाहरूलाई धेरै मिस गर्छु’, पत्रकार चेङ लेईले पत्रमा उल्लेख गरेकी छिन् । उनको सन्देश हालै चेङ लेईका पार्टनर निक कोलले अस्ट्रेलियाली समाचार आउटलेटहरू र सोशल मिडिया प्लेटफर्महरूमा उपलब्ध गराएका छन् ।

चीन र अष्ट्रेलियाबीचको तनाव बढ्दै गएको बेला चेङ लेईलाई हिरासतमा लिइएको थियो । चेङ लेईलाई पक्राउ गरेपछि केहीले प्रश्न उठाएका थिए ।

अष्ट्रेलियाको सरकारले पनि चेङ लेईको हिरासतमा बारम्बार चिन्ता व्यक्त गरेको छ । चेङ लेईको मुद्दामा अहिलेसम्म कुनै निर्णय आएको छैन । चीनले महिला पत्रकार चेङ लेईको कथित अपराधको कुनै विवरण सार्वजनिक गरेको छैन ।

चेङ लेईको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङले चेङ लेईलाई आफ्ना बच्चाहरूसँग पुनर्मिलन भएको हेर्न चाहेको बताएका छन् । विदेशमन्त्री वाङले शुक्रबार विज्ञप्ति जारी गरेर अस्ट्रेलियाले लगातार चेङ लेईको वकालत गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार मानव व्यवहारको आधारभूत मापदण्ड पूरा गर्न चीनलाई दबाब दिइएको मन्त्री वाङले बताएका छन् ।

जासुसीको आरोपमा चेङ लेईलाई सन् २०२० मा पक्राउ गरेर जेलमा हालिएको छ । एजेन्सी

Published : Saturday, 2023 August 12, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया