नक्कली डाक्टरको सूचीमा पुनमको पनि नाम, आठ पुग्यो संख्या

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली डाक्टरमाथि चलाएको अप्रेशनमा पुनम थापालाई पक्राउ गरेको छ ।

पुनमलाई प्रहरीले शुक्रबार भक्तपुरबाट पक्राउ गरेको जनाएको छ । पुनमसहित प्रहरीको अप्रेशनमा पक्राउ पर्नेहरूको संख्या एक सांसदसहित ८ जना पुगेको छ ।

सीआईबीले शुक्रबार नै मोरङबाट मनित चौधरीलाई पक्राउ गरेको छ । यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ परेकी थिइन् । ललितपुरको हात्तीबन निवासी शिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो ।

‘अप्रेशन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन् । त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो ।

बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डा.रामबाबु यादव र एरिना यादव रहेका छन् ।

Published : Friday, 2023 August 11, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया