लडाकु शिविरको भ्रष्टाचार छानविन गर्न आयोग बनाऔं : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नु जरूरी रहेको बताएका छन् ।

बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले देशका प्रमुख कार्यकारीमाथि नै प्रश्न उठिरहेका बेला उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन गर्नु आवश्यक रहेको बताए । उनले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताए । भट्टराईले सुन तस्करी प्रकरणमा एमालेको मागलाई समर्थन गरेका छन् ।

माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने भट्टराईले बताएका छन् ।

एमालेले संसदमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु उसको अधिकारको विषय भएको भट्टराईले बताएका छन् ।
उनले भ्रष्टाचारका विषयमा माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘उच्चस्तरीय आयोग गठनका लागि संसदमा एमालेले उठाएको माग सैद्धान्तिक रूपले पनि ठीक छ ।’

‘सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग गठन गरेर सबै मुद्दाहरूको निष्पक्ष छानबिन गर्न जरूरी छ’, भट्टराईले भने ।

एउटा व्यक्तिलाई मात्रै कारबाही गरेर भ्रष्टाचार निर्मूल नहुने भन्दै त्यसका लागि संरचनागत ढंगले नै भ्रष्टाचार निर्मूल पार्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानबिन हुन्छ भने आफू त्यसको लागि तयार रहेको बताएका छन् ।

भट्टराईले आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषयहरू उछाल्ने र फाइलहरू खोल्ने गरिए पनि ठूला दलहरूबीच लाभका पदहरूमा भागबन्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको बताए ।

Published : Friday, 2023 August 11, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया