कांग्रेसबाट निर्वाचित सोलुदूधकुण्डका मेयर शेर्पाद्वारा शव बोक्न नि:शुल्क सेवा प्रदान

काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक नि:शुल्क शव वाहन सञ्चालनको निर्णय गरेको छ ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले हाल संचालनमा रहेका ४ वटा एम्बुलेन्समध्ये एउटालाई शव वाहनका रूपमा प्रयोग गर्ने निर्णय गरेको नगरप्रमुख (मेयर) नाम्गेलजाङबु शेर्पाले जानकारी दिएका छन् ।

जिल्लाभरि हालसम्म पनि कुनै पनि शव वाहन गाडी छैन । सोलुबासीले सास्ती खेप्नुपरेको अवस्थालाई शव बोक्ने समस्या समाधानका लागि नि:शुल्क शव बोक्ने व्यवस्था मिलाएको नगरप्रमुख शेर्पाले बताए ।

गत आर्थिक वर्षमा नगरकार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा गर्दै करिब ९५ प्रतिशत कार्यान्वयन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा १७२ वटा निर्णय गरेकोमा १६३ वटा निर्णय कार्यान्वयन भइसकेको छ । ९ वटा कार्यान्वयनको क्रममा रहेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताएकी छिन् ।

पछिल्लो समय पशुचौपायमा महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग नियन्त्रणका लागि खोप र औषधिको थप व्यवस्था गर्ने निर्णय भएको छ ।

नगरपालिकाका ११ वटै वडामा गरी कुल सात हजार १० वटा पशुमा लम्पीस्किन खोप लगाई सकिएको छ । रोगबाट ६०६ वटा संक्रमित र २२ पशुको मृत्यु भएको छ ।

बैठकले जनै पुर्णिमामा सोलुदूधकुण्ड नगरपालिका १ दुधकुण्डमा लाग्ने मेला व्यवस्थापनका लागि शान्ति सुरक्षा, स्वास्थ्य शिविर लगायतको आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुन् । उनी सोलुखुम्बु कांग्रेसका सभापति पनि हुन् ।

Published : Thursday, 2023 August 10, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया