एयरपोर्टबाट उम्किएको सुन पक्राउ भयो, धन्यावाद त दिऔँ : नेता राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले संसदमा आफूहरूलाई केही व्यक्ति र नेताहरूको सिण्डिकेटका कारण बोल्न नदिइएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा यादवले जनताले संसदमा आफ्ना कुरा नेताहरूले बोलुन् भनेर पठाएको बताए । तर, संसदमा बोल्न पनि नदिएको भनेर उनले आक्रोश पोखेका छन् ।

उनले भने, ‘जनताका आवाज हामीलाई यहाँ पठाएको छ । बोल्नको लागि पनि हामीलाई केही नेताहरूका, केही राजनीतिक सिण्डिकेटसबाट अनुमति प्राप्त भयो भने मात्रै संसद खुल्न पाउने, नत्र संसद चाहिँ उहाँहरूको स्वार्थका कारण बन्धक बनिरहनुपर्ने, यही हो लोकतन्त्र ? जनताले लडेर बनाएको यही हो सम्मानित सांसद ?’

‘हामी अहिले पनि लोकतन्त्र र गणतन्त्रका कुरा गर्छौं । केही नेताहरू बसेर संसदको सम्पूर्ण काम कारबाहीलाई जसरी प्रभावित गरिरहेको छ यसमा हाम्रो विमती छ’, उनले भने, ‘भविष्यमा यो कुरा नहोस् भन्ने चाहन्छु ।’

सत्ता पक्ष र प्रतिपक्षको नाममा जसरी दोहोरी चलेको छ यसले गर्दा जनताका जायज मुद्दाहरू संसदमा राख्न नपाएको सांसद यादवले बताएका छन् ।

जसपाका नेता यादवले अर्कै अर्कै धुनमा आफ्ना केही हिडेन इन्ट्रेष्टहरूलाई परिपूर्ति गर्न संसदलाई बन्धक बनाएको आरोप लगाए । प्रजातन्त्रमा लोक लाजको विषय रहने उनले बताएका छन् ।

उनले भने, ‘यहाँ जे गर्दा पनि बिरोध हुन्छ । सुन कम्तिमा चोरी भइरहेको थियो । राज्यका कतिपय गतिविधिले गर्दा अविश्वास बनेको छ । कम्तिमा यो पटक एक क्विन्टल सुन समातियो । एक शब्द धन्यावाद दिनुको साटो, उल्टै किन समातियो ? भन्ने ढंगले प्रश्न गरिएको छ । यो कुरा जायज होइन ।’

बिगतमा कहाँ कमिकमजोरी भयो त्यसको खोजी गर्न उनले आग्रह गरेका छन् । उनले भने, ‘एयरपोर्टबाट उम्किएर सिनामंगलमा आएर राजश्व अनुसन्धान विभागले जसरी समात्यो कम्तिमा त्यतिको लागि त धन्यावाद दिऔँ ।’

सांसद यादवले सरकारसँग धेरै प्रश्नहरू सोध्न नपाएको बताएका छन् ।

Published : Tuesday, 2023 August 8, 6:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया