कांग्रेस बलियो बनाउन नेता र कार्यकर्ताबीच विश्वास आवश्यक : सभापति शेरचन

काठमाडौं । नेपाली कांग्रेस बाग्लुङका सभापति जीतबहादुर शेरचनले पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरूप्रति भरोसा गर्न आग्रह गरेका छन् ।

सोमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उनले नेता र कार्यकर्ताबीचको विश्वासले मात्रै पार्टी चल्ने बताए ।

हालै सम्पन्न नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म ‘विशेष आन्तिरक अभियान’ संचालन गर्ने निर्णय गरेअनुसार बाग्लुङको वुर्तिवाङमा कार्यक्रम संचालन भएको छ ।

अभियानलाई प्रभावकारी र सफल बनाउन जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका सभापति शेरचनले जनताको विश्वासलाई आत्मसाथ गर्दै जनताले भरोसा गर्न सक्ने काम गर्न आग्रह गरेका छन् । उनले कार्यकर्ताहरूलाई कुनैपनि चमत्कारी नयाँ पार्टी देखेर आत्तिन नहुने बताएका छन् ।

सुशील कोइराला जस्ता सादगी नेताबाट जारी गरिएको संविधानले नेपाली जनताका हक अधिकारलाई संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामार्फत सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्‍याएको शेरचनले बताएका छन् ।

विकास गर्न सक्ने इमान्दार नेता र पार्टीलाई हरेक निर्वाचनमा सफल बनाउनुपर्ने उनले बताएका छन् । सभापति शेरचनले कांग्रेसभित्र केही सानातिना विकृति भए पनि त्यसलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।

गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले विकासको प्रतिफल नेपाली कांग्रेसमार्फत नै पुर्‍याएको बताएकी छिन् । उनले कांग्रेस नै महिला, दलित, जनजातीको पार्टी भएको भन्दै कांग्रेसको संगठनलाई अझै सवल र सुदृढीकरण गर्दै लैजानुपर्ने बताएकी छिन् ।

नेपाली कांग्रेस वडा नं. १ का पार्टी सभापति पानबहादुर छन्त्यालको सभापतित्वमा भएको सम्मेलनमा महाधिवेशन प्रतिनिधि दीपेन्द्रबहादुर श्रेष्ठ, क्षेत्रीय सदस्य ढालेन्द्र छन्त्याल लगायत स्थानीय नेता तथा कार्यकर्ताले कांग्रेसको संगठनलाई बलियो बनाएर लैजानुपर्ने सुझाव दिएका छन् ।

Published : Monday, 2023 August 7, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया