सरकारलाई झुकाउन निर्माण व्यवसायीहरूको कडा आन्दोलन, फाइनल तयारी

काठमाडौं । सरकारले आफ्ना माग कार्यान्वयन गर्ने विषयमा बेवास्ता गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले सशक्त आन्दोलनको तयारी गरेको छ ।

महासंघले साउन १४ गतेदेखि आन्दोलन गरिरहेको छ । आन्दोलनलाई थप कडा बनाउँदै जाने महासंघले चेतावनी दिएको छ ।

चक्काजामदेखि निर्माणको काम रोक्नेसम्मका आन्दोलन हुनेछन् । महासंघले सोमबारदेखि शुक्रबार साउन २६ गतेसम्म सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेरे हरेक दिन ९ बजेदेखि अनामनगरबाट संसद भवनसम्म सिट्टी जुलुस गर्नेछन् ।

महासंघले संसद भवन अगाडि कोण सभा गर्नेछ । संसद भवनदेखि माइतीघर–बबरमहल हुँदै हनुमानस्थानमा जुलुस गरी धर्ना दिने कार्यक्रम सार्वजनिक भएको छ । साउन २८ गते सोमबारदेखि अत्यावश्यक बाहेक सबै निर्माण कार्य अनिश्चितकालका लागि बन्द गरिनेछ ।

महासंघले विकासे विभागहरूमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना र तालाबन्दीसम्म गर्ने तयारी गरेको छ ।

थानकोट र साँगामा आलोपालो दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने घोषणा समेत महासंघले जनाएको छ ।

सरकारले असार २१ गते राजपत्रमा सूचना प्रकाशित गरी सबै ठेक्काको म्याद एक वर्ष थप गरेको छ ।

महासंघले निर्माण कार्यको भुक्तानी गर्न, असार २१ गतेको आदेशमा संशोधन गरी पुन: आदेश जारी गर्न माग गरेको छ ।

सरकारबाट भुक्तानी नभएसम्म चेक बाउन्स र बैंक ग्यारेन्टी जफत लगायत कारवाही रोक्न समेत भनिएको छ ।

Published : Sunday, 2023 August 6, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया